अमेरिकाद्वारा युक्रेनलाई लामाे दुरीका क्षेप्यास्त्र प्रयाेग गर्न अनुमति, के हाेला अब ?

मूलखबर संवाददाता
काठमाडौं, ४ मंसिर

केही समय शान्तजस्ताे देखिएकाे रूस युक्रेन युद्व फेरि चर्कन सक्ने देखिएको छ ।विशेषगरी अमेरिकाले युक्रेनलाई युद्वप्रति उक्साउने रणनीतिमा लागेकाे कारण युद्व चर्न सक्ने अनुमान गरिएको हाे ।

पछिल्लो समय संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडनले अमेरिकाले उपलब्ध गराएका लामो दूरीका क्षेप्यास्त्रहरू रुसमा प्रहार गर्न दिने अनुमति युक्रेनलाई प्रदान गरेका छन्।

आगामी जनवरी महिनामा अमेरिकाको सत्ताबाट बाहिरिन लागेका बाइडनको प्रशासनले अमेरिकाले यसअघि युक्रेनलाई उपलब्ध गराएको आर्मी ट्याक्टिकल मिसाइल सिस्टम (एटीएसीएमएस) प्रयोग गर्न किएभलाई अनुमति दिएको बीबीसीको अमेरिकी साझेदार सीबीएस न्यूजले जनाएको छ।

लामो दूरीमा मार हान्न सक्ने क्षमता भएका अस्त्रहरू युक्रेनलाई दिन अमेरिकी सेना अनिच्छुक थियो। यद्यपि बाइडनले ती क्षेप्यास्त्र युक्रेनलाई उपलब्ध गराउन गोप्य निर्देशन दिएका विवरणहरू यसअघि सार्वजनिक भएका थिए।

अमेरिकाको निर्णयप्रति रुसमा चर्को आक्रोश व्यक्त भएको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको कार्यालयले अमेरिकाले युद्धको “आगोमा घिउ थपेको” प्रतिक्रिया दिएको छ।

यसलाई आफूले युक्रेनबाट नभई अमेरिकाबाटै भएको आक्रमको रुपमा बुझेको क्रेम्लिनले एक विज्ञप्तिमा जनाएको छ।

सत्ताबाट बाहिरिन लागेका अमेरिकी राष्ट्रपति जो बाइडनले तनाव बढाउन चाहेको “स्पष्ट” भएको उसले बताएको छ। -बीबीसीबाट