श्रीलंकामा वामपन्थी गठबन्धनले जित्यो संसदमा दुईतिहाई, पहिले जम्मा ३ सिट, अहिले १५९ सिट

मूलखबर संवाददाता
काठमाडौं, ३० कात्तिक

लामो आर्थिक संकट र अराजकताको समना गरिरहेको श्रीलंकाको संसदीय निर्वाचनमा राष्ट्रपति अनुराकुमारा दिसानायके नेतृत्वको वामपन्थी गठबन्धनले संसदमा दुईतिहाई सिट जितेको छ । वामपन्थी गठबन्धन नेशनल पीपुल्स पावर (एनपीपी) ले कुल २२५ मध्ये १५९ सिट सहित दुई तिहाई बहुमत हासिल गरेको हो।

वामपन्थी नेता दिसानायके गत २२ सेप्टेम्बरमा श्रीलंकाका लागि राष्ट्रपति चुनिएका थिए । यस अघि संसदमा जम्मा तीन सिट जितेका उनले भ्रष्टाचारविरुद्ध लड्ने र श्रीलंकाले व्यहोरिरहेको आर्थिक संकटबाट बाहिर निकाल्नका लागि बहुमत आवश्यक भएको भन्दै संसदको मध्यावधि निर्वाचनमा देशलाई लगेका थिए ।

प्रत्यक्षतर्फ १४१ सिट ल्याएको एनपीपीले समानुपातिकतर्फको २९ सिटमध्ये १८ सिट आफ्नो भागमा पर्दा कुल १५९ सिट अर्थात् दुई तिहाइभन्दा बढी ल्याउन सफल भएको हो ।

सन् २०२२ मा श्रीलंका चरम आर्थिक संकटबाट गुज्रिएका बेला तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षेलाई जनताको बलमा सत्ताच्यूत गरिएको थियो ।

त्यसपछि भएको निर्वाचनबाट राष्ट्रपति बनेका दिसानायकेले पहिलोपटक सत्ताको नेतृत्व सम्हाल्दै भ्रष्टाचारविरुद्ध लड्ने र देशको चोरी भएको सम्पत्ति फिर्ता गर्ने घोषणा गरेका थिए ।
कम उमेरमै तत्कालिन सत्ताविरुद्ध संघर्ष उत्रिएका वामपन्थी नेता देशानायकेले  यो अभुतपुर्व विजयको लागि सबै जनता र मतदातालाई धन्यवाद दिएका छन् र अब आफ्नो मुख्य मिशन भ्रष्टाचारको अन्त्य गर्नु र देशलाई आर्थिक संकटको जर्जर अवस्थाबाट मुक्त गर्नु रहेको बताएका छन् ।