अन्तर्राष्ट्रिय हवाई भाडा तेब्बर बढी, टिकट पनि पाइन्न, कहिलेसम्म यस्तो ?

मूलखबर संवाददाता
काठमाडौं, २७ कात्तिक

दशैं तिहार र छठ मनाएर विदेश फर्कन लागेका र अर्झट कामले नेपाल आएर विदेश फर्कन लागेका नेपाली कामदार एक्कासी बढेको हवाइ भाडादरले अत्यन्तै मर्कामा परेका छन् ।

नेपालकाे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मतको लागि भन्दै दैनिक १० घण्टा बन्द गरेपछि अन्तर्राष्ट्रिय एयरवेजले उडान कटौती गरेको कारण मुख्य समस्या आएको देखिन्छ ।

वैदेशिक रोजगारीका लागि गन्तव्य मुलुकमा जाने तयारीमा रहेका नेपाली श्रमिकहरू हवाई टिकट अभावले अलपत्र पर्न थालेका छन् ।

बिदामा आएर फर्कन लागेका र नयाँ श्रम स्वीकृति लिएका कामदारहरूले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूको उडान कटौतीका कारण टिकट पाउन नसक्दा रोजगारदाता मुलुकतर्फ प्रस्थान अनिश्चित बनेको छ ।

अर्कातिर वायुसेवा कम्पनीले टिकटको मूल्य पनि अस्वाभाविक रूपमा बढाएका छन् ।

त्रिभुवन विमानस्थल कार्यालयले पूर्वाधार विस्तार तथा निर्माण कार्यका लागि भन्दै शुक्रबार रातिदेखि लागू हुने गरी राति १० बजेदेखि बिहान ८ बजेसम्म व्यावसायिक उडानमा रोक लगाएको छ । व्यावसायिक उडानमा दैनिक १० घण्टाको रोक चैत १८ सम्मका लागि हो ।

उडान अवधि घटेपछि अन्तर्राष्ट्रिय र आन्तरिक उडान ३० प्रतिशतले कटौती भएको छ । यही मौकामा वायुसेवा कम्पनीहरूले हवाई भाडा बढाएर तेब्बरसम्म पुर्‍याएका छन् । यसबाट नेपाली श्रमिकहरूको गन्तव्यमा जाने वा स्वदेश फर्कने खर्च बढेको छ ।

टिकट काटिसकेका कतिपय यात्रुकै उडान पनि अनिश्चित बनेको छ । काठमाडौंबाट सबैभन्दा बढी उडान भर्नेमध्येको कतार एयरवेजका एक अधिकारीका अनुसार टिकट काटिसकेका सयौं यात्रुको उडान रोकिएको छ ।

दिनमा चार उडान गर्न टिकट बेचेको कतार एयरवेजले शुक्रबारदेखि दैनिक दुई उडान मात्र गरिरहेको छ । ‘कतार एयरवेजले दिनमा करिब एक हजार यात्रु बोकिरहेको थियो, अहिले ५ सयमा झरेको छ,’ कतार एयरवेजका ती अधिकारीले कान्तिपुरलाई भने, ‘त्यही कारण हरेक दिन पाँच सय जना हाराहारीको उडान रोकिएको छ । पहिल्यै टिकट काटिसकेका यात्रुलाई समायोजन नगरेसम्म नयाँलाई टिकट दिने अवस्था छैन ।’

टिकट काटिसकेपछि पनि उड्न नपाएकाहरू काठमाडौं हात्तीसारस्थित कतार एयरवेजको कार्यालयमा धाइरहेका छन् ।