
त्रिभुवन विमानस्थल भन्सारमा रिचेक गर्दा ५ किलाे सुन ल्याउने ३ पक्राउ
लामाे समयदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करीको समाचार नआइरहेका बेला मंगलबार साँझ ५ किलो ७ सय ग्राम सुनसहित ३ जना पक्राउ परेका छन् ।
सशस्त्र प्रहरी बल, नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार एयर अरेबियाको जहाजमार्फत यूएईको शारजाहबाट काठमाडौं आएका एक चिनियाँ र २ म्यानमारका नागरिक सुनसहित पक्राउ परेका हुन् ।
पक्राउ पर्ने चिनियाँ नागरिकमा च्यान चोङ र म्यानमारका सात नाइङ तुन र एई एन्गोन फू रहेका छन् ।
उनीहरूलाई भन्सार ब्यागेज क्षेत्रमा रिचेक (पुनः जाँच ) गर्ने क्रममा लगेजभित्र राखेको १२ थान स्पिकरमा करिब ५ के.जी. ७ सय ग्राम सुन फेला परेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यलय र सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार सुरक्षा बेसको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो ।
