उपनिर्वाचन : किर्तिपुरकाे मेयरमा माओवादीबाट प्राध्यापक डा. शिवशरण उम्मेदवार

मूलखबर संवाददाता
काठमाडौं, २० कात्तिक

मंसिर १६ गते हुन लागेकाे उपनिर्वाचनमा कीर्तिपुर नगरपालिकाको मेयरमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले प्राध्यापक शिवशरण महर्जनलाई उम्मेदवार बनाउने भएको छ । सोमबार बसेको पार्टीको नगर कमिटी बैठकले प्राध्यापक महर्जनलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

माओवादीले वडा नम्बर १ को अध्यक्षमा अष्टमान महर्जन र वडा नम्बर ४ को अध्यक्षमा नारायण विष्टलाई सिफारिस गरेको छ ।

कीर्तिपुर नगरपालिकाको मेयर राजकुमार नकर्मी, वडा नम्बर १ अध्यक्ष हिरालाल महर्जन र वडा नम्बर ४ का श्यामकुमार अधिकारीको निधन भएपछि मंसिर १६ गते उपनिर्वाचन हुन लागेको हो ।

निर्वाचन आयोगका अनुसार मंसिर १६ गते जिल्ला समन्वय समितिका प्रमुख २, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४, वडाध्यक्ष १० तथा नगरपालिकाका मेयर १, उपमेयर १ र वडाध्यक्ष २१ गरी ४१ सिटमा उपनिर्वाचन हुँदैछ ।

माओवादी केन्द्रका मेयरको उम्मेदवारमा सिफारिस महर्जन त्रिभुवन विश्वविद्यालय केन्द्रीय शिक्षाशास्त्र विभागका पूर्वप्रमुख हुन् । त्यस्तै उनले विश्वविद्यालय अनुदान आयोगको सदस्यको जिम्मेवारीसमेत सम्हालिसकेका छन् ।