नेपाली टिमले भारतलाई जित्दा विश्वभरका नेपालीले एकैसाथ भने- बधाई छ साम्बा

मूलखबर संवाददाता
काठमाडौं, १२ कात्तिक

लगातार १ सय ४७ मिनेटकाे खेल समयपछि नेपाली चेलीहरूले छिमेकी शक्तिशाली भारतिय टीममाथि विजय हाँसिल गर्दा नेपालमात्रै हाेइन विश्वभर रहेका नेपालीहरू खुसीले एकैपटक उफ्रिए र चिच्याएर भने- बधाई छ साम्बा, बधाई छ नेपाली चेली ।

दशरथ रंगशालामा आइतबार भएको सेमिफाइनल खेलमा नेपालले भारतलाई पेनाल्टी सुटआउटमा ४–२ ले हरायो । निर्धारित समयको खेल १–१ को बराबरीमा थियो । अझ नेपालले १० खेलाडीमा सीमित भएर खेल्नुपरेको थियो ।

यसकाे बाबजुद नेपाली टिमले जसरी खेल्याे र पेनाल्टीमा जित्याे त्यसपछि दशरथ रंगशालामा उपस्थित १६ हजार बढि दर्शक खुसिले उफ्रिए, नेपालका झन्डा उचाले र खुसि र बधाई साँटासाँट गरे ।  नेपालका राजनीतिक दलका नेताहरूले पनि सामाजिक सञ्जालमा बधाई दिए । टिभि र युट्युबमार्फत खेल हेर्ने विश्वभरका नेपालीहरूले जहाँ त्यहीँबाट बधाई दिए र भने- हुर्रे, नेपालले जित्याे । वेल डन साम्बा !

त्यसैले यो जित समग्र नेपाली फुटबल इतिहासकै अभूतपूर्व मानिनेछ । अब बुधबार हुने उपाधिको भिडन्तमा नेपालले डिफेन्डिङ च्याम्पियन बंगलादेशको सामना गर्नेछ ।

फुटबलमा इतिहास दोहोरिन्छ भनिन्छ, यसपल्ट ठीक त्यस्तै भएको छ । सन् २०२२ मा दशरथ रंगशालामै भएको यस प्रतियोगिताको फाइनलमा बंगलादेश र नेपाल नै पुगेका थिए । सेमिफाइनलमा बंगलादेशले भुटान र नेपालले भारतलाई नै हराएका थिए । यसपल्ट पनि त्यही भयो । बंगलादेशले आइतबार नै भएको पहिलो सेमिफाइनलमा भुटानलाई ७–१ ले हरायो । अब भने नेपालले फाइनलमा इतिहास दोहोर्‍याउने होइन, नयाँ इतिहास रच्ने अवसर आएको छ– बंगलादेशलाई हराएर पुरानो बदला लिने ।

खेलमा पूर्णतः छाएकी सावित्रा भण्डारीले नेपाली फुटबल र यसका समर्थकका लागि आफूहरूले जितेको प्रतिक्रिया दिइन् । खासमा यो यस्तो खेल रह्यो, जसलाई पछि सावित्राको खेल भनेर पनि चिनिनेछ । तर, उनले श्रेय आफ्नो टिमलाई दिएकी छन् । ‘आज हाम्रो खेल हेर्न यति धेरै दर्शक रंगशालामा आएका थिए, त्यति हामीले अपेक्षा गरेका थिएनौं । त्यसैले सुरुमा आत्तियौं पनि । तर, महिला फुटबललाई माया गर्ने तिनै दर्शकका लागि हामीले कडा मिहिनेत गरेर खेल्यौं र जित्यौं ।’

करिब १ घण्टा १५ मिनेट खेल अवरुद्ध भएको थियो । यसबीच नेपाली टिमले खेल्नै मानिरहेको थिएन । बल्लतल्ल खेल सुरु हुँदा दोस्रो हाफको १८ मिनेट देखिएको थियो । खेल सुरु भएको एकै मिनेटमै सावित्राले बराबरी गोल फर्काइन् ।

खेलको ७२ औं मिनेटमा भारतले सुरुआती अग्रता लियो । संगीता बासफोरेले भारतका लागि उत्कृष्ट गोल गरेकी थिइन् । गोलपछि भारतीय टिमले खुसियाली मनाएको थियो । तर, ठीक त्यही बेला नेपालले बल चलाएर गोल गर्‍यो । करिब ३५ यार्डको दूरीबाट प्रीति राईले गोललाई पोस्टको दिशा दिएकी थिइन् । खेल सञ्चालन गरिरहेकी भुटानी रेफ्री ओम चोकीले त्यसलाई सुरुमा मान्यता पनि दिइन् । लगत्तै भारतीय टिमले विरोध गर्‍यो र त्यसले मान्यता पाएन । सम्भवतः त्यो गोल नै हुनुपर्ने थियो र यस क्रममा रेफ्री यत्तिको माथिल्लो स्तरको खेलका लागि योग्य नभएको स्पष्ट देखियो ।