एमालेद्वारा रास्वपाकाे आन्दोलनप्रति खेद व्यक्त

मूलखबर संवाददाता
काठमाडौं, ८ कात्तिक २०८१

नेकपा (एमाले) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट भइरहेका गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयनको प्रक्रिया अघि बढिरहँदा रास्वपा लगायत संस्था र व्यक्तिबाट भइरहेका गतिविधिप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको एमालेले जनाएको हाे ।

पार्टी महासचिव शंकर पाेखरेलद्वारा जारी प्रेस विज्ञप्तिमा  संसदीय विशेष समितिले बनाएको प्रतिवेदनको आधारमा किटान गरिएका व्यक्तिहरूलाई अनुसन्धान, अभियोजन र न्यायिक प्रक्रिया अघि बढेको र त्यसमा सहयोग गर्नु सबैको साझा कर्तव्य रहेको उल्लेख गरिएको छ । छानबिन समितिले सर्वसम्मत रूपमा औँल्याएका विषयमा छानबिनको पक्रिया अघि बढिरहेको अवस्थामा प्रधानमन्त्री, सरकारका जिम्मेवार व्यक्ति र निकायका विरुद्ध जिम्मेवार व्यक्तिबाटै अमर्यादित अभिव्यक्ति दिने, गालीगलौज गर्ने र गलत आक्षेप लगाउँदै छानबिनको प्रक्रियालाई प्रभावित गर्ने गरी भ्रम सिर्जना गर्ने र अस्वस्थ वातावरण सिर्जना गर्ने काम हुनु अत्यन्त दुःखद विषय भएको उसकाे ठहर छ ।

फौजदारी मुद्दाको अनुसन्धान, अभियोजन र प्रतिरक्षालाई स्वतन्त्र भयरहित र वैज्ञानिक बनाइ फोजदारी न्याय प्रणालीको प्रभावकारिता बनाउनु सबैको साझा दायित्व भएको विज्ञप्तिमा उल्लेख छ । न्यायिक प्रक्रियालाई स्वस्थ, निष्पक्ष र विधिसम्मत ढङ्गले अघि बढाउन राजनीतिक दल, सञ्चारजगत् सरकार तथा गैरसरकारी निकाय एवं नागरिक समेतको सकारात्मक सहयोग आवश्यक रहेको एमालेले भनेको छ ।