
७६ जिल्लामा देखियाे डेंगी, प्रकाेप बढ्न सक्ने खतरा
यस वर्ष पनि डेंगीकाे संक्रमण बढेको पाइएको छ ।
दशैँपछि सहरी क्षेत्रमा डेङ्गी रोगको प्रकोप र पहिल्यै अन्य रोग भएका बिरामी अस्पतालमा भर्ना हुने दर बढेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ताले बताएका छन्।
याे वर्ष हुम्लाबाहेक सबै जिल्लामा डेङ्गीका बिरामी फेला परेका छन्। ती ७६ जिल्लामा सङ्क्रमण पुष्टि भएका बिरामीको सङ्ख्या २२,००० नाघिसकेको सरकारी तथ्याङ्कले देखाउँछ। तीमध्ये ११ जनाको मृत्यु भएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीका अनुसार डेङ्गीका धेरै बिरामी फेला परेका जिल्लामध्ये काठमाण्डू, कास्की, तनहुँ र पर्वत छन्। काठमाण्डू र कास्की दुवै जिल्लामा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ३,००० हजार माथि छ।
तर सङ्क्रमित हुने मानिसको सङ्ख्या अझ धेरै हुन सक्ने ठानिएको छ।
स्वास्थ्य मन्त्रालयले अझै एक महिना नेपालमा डेङ्गी सङ्क्रमण बढ्न सक्ने सम्भावना देखाएकाे छ । त्यसबीचमा थप क्षति नहोस् भन्नका लागि हामी सजग भएकाे उसले बताएको छ ।
जनस्वास्थविज्ञ तथा स्वास्थ्यकर्मीले सङ्क्रमित लामखुट्टेबाट सर्ने उक्त रोगको थप जोखिम औँल्याएपछि यही साता स्वास्थ्यमन्त्री प्रदीप पौडेलले सातवटै प्रदेशका स्वास्थ्यमन्त्रीहरूसहित स्थानीय निकायका सङ्गठनका प्रतिनिधिसँग छलफल गरेका छन्।
