विपक्षी दलहरूले प्रधानमन्त्री ओलीलाई बुझाए ज्ञापन पत्र

मूलखबर संवाददाता
काठमाडौं, ५ कात्तिक

विपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर ज्ञापनपत्र बुझाएका छन् । आज (सोमबार) बेलुका ८ बजे प्रधानमन्त्री निवास बालुवाटार पुगेर विपक्षी दलहरुले ज्ञापनपत्र बुझाइएका हुन् ।

ज्ञापनपत्रमा एमाले र कांग्रेसले २०८१ असार १७ गते ७ बुँदे सम्झौता गरी ओलीको नेतृत्वमा गठन गरेको वर्तमान सरकारले राष्ट्रिय हित रक्षा, भ्रष्टाचार नियन्त्रण, सुशासन र विकास निर्माणको अभियानलाई तीव्रता दिने विषय सार्वजनिक गरेको भए पनि सरकार आफ्नो प्रतिबद्धता अनुसार नचलेको उल्लेख छ।

ज्ञापनपत्र बुझाउनका लागि पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्व प्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, रास्वपाका उपाध्यक्ष डिपी अर्याल, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साह छन् । यस्तै कार्यदलका सदस्यहरू बस्नेतसहित राजेन्द्र पाण्डे, शिशिर खनाललगायत नेताहरू बालुवाटार गएका थिए ।

ज्ञापनपत्रमा भनिएको छ- सुरूआती दिनमा ती विषयमा ठूलो आवाज गरेको वर्तमान सरकारले गठनको झण्डै एक सय दिन पुग्न लाग्दा पनि प्रतिबद्धता अनुसार काम नगरेको मात्र होइन, सरकारको भनाइ र गराइमा कुनै तादात्म्यता देखिन छोडेको छ। सुशासन र प्रभावकारी सेवा प्रवाहका विषयमा सरकारले कुनै पनि कदम नचालेर सुशासन कमजोर बनाएको छ। अदालतमा मुद्दा खेपिरहेका व्यापारीको पक्षमा स्वयं प्रधानमन्त्रीले नै पक्षपोषण गर्नु र प्रधानमन्त्रीकै दलले करिब एक अर्बभन्दा बढी मूल्यको जग्गा गैरकानुनी रूपमा दानका रूपमा लिएर सुशासनको उपहास गर्ने कार्य भएको छ ।

त्यसैगरी ज्ञनपनपत्रमा सरकारले लोकतन्त्रलाई दुई ठूला दलतन्त्रमा परिणत गर्ने र अन्य दलहरूलाई विभिन्न ढंगले कमजोर पार्ने कार्य गर्दै राजनीतिक सहिष्णुता प्रतिकूल व्यवहार प्रदर्शन गरेको पनि उल्लेख छ।