इजरायलद्वारा फेरि प्यालेस्टाइनमाथि आक्रमण, ३३ मारिए

मूलखबर संवाददाता
काठमाडौं, ३ कात्तिक

प्यालेस्टाइनमा इजरायलले जारी राखेको पछिल्लो आक्रमणमा राजधानी गाजामा ३३ जनाको मृत्यु भएको छ।  उत्तरी गाजाको एउटा शरणार्थी शिविरमा भएको आक्रमणमा २१ महिलासहित ३३ जनाको मृत्यु भएको हमासका अधिकारीहरूले जनाएका छन्। जबालिया क्षेत्रमा भएको यो आक्रमणबारे इजरायलले कुनै प्रतिक्रिया दिइसकेको छैन।

इजरायली सेनाले पछिल्ला केही हप्तादेखि घना आवादी रहेका शरणार्थी शिविरहरुलाई घेराबन्दीमा राखेको छ। यसै हप्ता इजरायलले गरेको आक्रमणमा हमासका प्रमुख कमाण्डर याह्या सिनवार मारिएका थिए। उनी मारिएसँगै इजरायलले आक्रमण बन्द गर्ने र हमाससमेत पछि हट्ने अनुमान गरिएको थियो। तर आक्रमण भने रोकिएको छैन।

यसैबीच अमेरिकाले लेबनानमा युद्धविरामको सम्भावना रहेको बताएको छ। राष्ट्रपति जो बाइडेनले लेबनानमा युद्धविरामको दिशामा काम गर्ने सम्भावना रहेको भन्दै गाजामा भने युद्धविरामको सम्भावना कमजोर रहेको बताएका छन्।