रास्वपा सभापति रवि लामिछाने पक्राउ, रविले लेखे- सरकार मर्याे, हामीलाई जुठाे पर्याे

मूलखबर संवाददाता
काठमाडौं, २ कात्तिक २०८१

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पुर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने गिरफ्तार परेका छन् । कास्की जिल्ला अदालतकाे पक्राउ पुर्जी लिएर रास्वपा कार्यलय बनस्थली पुगेकाे प्रहरीले लामिछानेलाई पक्राउ गरेको हाे ।

सरकारले पक्राउ गर्ने सुचना पाएपछि लामिछानेले नेता कार्यकर्तासहित पत्रकार सम्मेलन गरेका थिए । उनले आफुले कुनै अपराध नगरेकाे भएतापनि अदालतकाे सम्मान गर्दै गिरफ्तारी दिने बताएका थिए । उनले कानुनी छानवीनलाई सघाउने बताएका थिए ।

उनले सरकारले आफुप्रति पुर्वाग्रह राखेर पक्राउ गर्न लागेकाे भन्दै कांग्रेस एमाले गठबन्धनको सरकारका प्रधानमन्त्री केपी ओली र एमालेकाे व्यापारी मिनबहादुर गुरूङले दिएकाे जग्गा दान काण्डलाइ इस्यु डाइभर्ट गर्न आफुलाई पक्राउ गर्न लागिएको बताएका छन् ।

उनलेे पक्राउ पुर्व फेसबुकमा एक स्टाटस लेख्दै सरकारकाे तिब्र आलोचना गरेका छन् ।

उनलेे लेखेका छन् – सरकार मर्‍यो,हामीलाई जुठो पर्‍यो !!
तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी ,मेरो हातमा चाहि हतकडी ??
तपाई विचौलियाको सेवा गरे बापत लाखौंको चस्मा र जुत्ता लगाउने, मुद्दा मैले खेपि दिनुपर्ने ?

तपाई प्रमाणित भ्रष्टाचारी बाट करोडौंको जग्गा खुल्लम खुल्ला लिने,मैले ठगीको आरोप खेपी दिनुपर्ने ।
तिमीहरु राज्यका भए भरको शक्ति लगाएर अनुसंधान गर्दापनि केही भेट्दैनौ अनि तिम्रो एउटा नेताको राजनीति जोगाउन र तिम्रो दुई तिहाइको सरकार जोगाइदिन म बली चड्नु पर्ने?
तिमी र तिम्रा नेता मिलेर सहकारी बाट ८७ अर्ब अपचलन गर्ने, मैले सहकारी ठग भैदिनु पर्ने?

यति गरेपछी भाटभटिनीको इस्यु मोड्नपनि पाइयो। प्रमाण छ भन्ने युवा नेतालाई पनि भागेर हिड्न परेन। तर म कहिले भागेर हिडिन र हिड्दिन पनि। ओली जी, भ्रष्टाचारी समाउन मैले प्रधानमन्त्रीको अफर लत्याए, तिनै भ्रष्टाचारी जोगाउन तपाईले त्यही अफर रातारात विचौलियालाई साक्षी राखेर लिनुभो।वाचा स्वरुप तपाईंले मेरो बली चडाउने सम्झौता त्यसै रात गर्नु भएको थियो।यो मलाई राम्रो सँग थाहा छ।तपाईको मन्त्रीमण्डल त्यसको साक्षात प्रमाण हो। तपाईहरुका दलका नेता /कार्यकर्ता प्रमाणित सहाकारी ठग हुन् । कोहि जेलमा छन् कोहि फरार छन् ।तपाईहरु तिनलाई जोगाउन लागिपर्नु भएको छ। अब तपाईहरु बाट पीडितले न्याय पाउदैनन् । त्यसैले अब सहकारी पीडितको आवाजको नेतृत्व हामी गर्छौ।
ठिक छ,म तपाईहरुको दिनगन्ती शुरु भएको खुशियालीमा कानुनलाई पुरै सघाउने प्रतिवद्द्ता ब्यक्त गर्दछु ।

नयाँ पुस्तालाई एक एक गर्दै सक्काउदै जाने तिमीहरुको कुनियतले तिमीहरुलाई चाडै रसातलमा पुर्‍याएको यो देशले चाडै देख्ने छ। शुरूवात तिमीहरुले गर्यौ,अन्त्य हामी गर्नेछौ, नेपाली जनताले गर्नेछन्, छिट्टै गर्नेछन्।

अहिलेलाई,सरकार मर्‍यो हामीलाई जुठो पर्‍यो। तर मलाई न्यायलय प्रती आशा र न्याय प्रेमी जनता प्रति भरोसा छ। प्रिय रास्वपा परिवारका साथीहरू, शिर ठाडो राख्नु होला। तपाईको सभापतिले कसैलाई ठगेको छैन।