सरकार जनताप्रति उदासिन, रवि पक्राउ गरिए प्रतिवाद गर्ने प्रतिपक्षकाे निर्णय

मूलखबर संवाददाता
काठमाडौं, २ कात्तिक २०८१

प्रतिपक्षी दलहरूले सरकार नागरिकप्रति उदासिन भएको निश्कर्ष निकालेका छन् ।

बानेश्वरमा शुक्रबार बिहान प्रचण्डको आयाेजनामा बसेको बैठकले बाढीपहिरोपछिको उद्धार र राहतमा सरकार उदासीन देखिएको र जनसरोकारभन्दा बढी पार्टीगत स्वार्थलाई प्राथमिकता दिएर अघि बढिरहेको निश्कर्ष निकालिएको हो।

बैठकपछि नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेताले यी बिषयमा सरकारलाई ज्ञापनपत्र बुझाउने समझदारी भएको बताए।

सरकारले गम्भिरता नदेखाए विशेष अधिवेशनको माग गर्ने विकल्पमा समेत छलफल भएको बस्नेतले बताए। यस्तै बैठकमा एमालेले पार्टी कार्यालय बनाउन विवादित व्यवसायी  मीनबहादुर गुरुङबाट लिएको जग्गादान र साना दल फुटाउने अध्यादेश ल्याउन भएको तयारीबारे समेत छलफल भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता विराजभक्त श्रेष्ठले पार्टी सभापति रवि लामिछाने पक्राउ परे सशक्त प्रतिवाद गर्ने निर्णय भएको बताए। कानुनी प्रकृयाबाट अनुसन्धानमा सघाउन सभापति तयार भए पनि कर्मचारी र प्रहरी प्रशासनको दुरुपयोग गरेर राज्यले सभापति पक्राउ गर्न खोजे प्रतिवाद गर्ने बताए।

बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, रास्वपा सभापति रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, महन्त ठाकुर, प्रभु साह, शक्ति बस्नेतलगायत नेता सहभागी थिए।