
उदयपुरमा पत्रकारमाथि आक्रमण गर्नेले मागे माफी
उदयपुरका पत्रकारमाथि आक्रमण गरी क्यामरा ताेडफाेड गर्ने खानेपानी उत्पादक कम्पनीका सञ्चालकले माफी मागेका छन् ।
रौता स्पिङ वाटर प्रा.लि. (रौता खानेपानी) का सञ्चालक पर्शुराम चौधरीले पत्रकारहरु समक्ष माफी मागेका हुन् । चौधरीले पत्रकारमाथि गरेको भौतिक आक्रमण र क्यामेरा तोडफोड आबेगमा गरिएको गल्ती भन्दै आगामी दिनमा गल्ती नदोहोर्याउने गरी माफि मागेका हुन् ।
कम्पनीको सिलप्याक खानेपानी जारभित्र कुखुराको प्वाँख भेटिएको विषयमा रिपोर्टिङ गर्न गएका पत्रकारद्वय बिक्रम राई र सुनिल राईमाथि हिजो आक्रमण गरी क्यामेरा तोडफोड गरेका थिए । घटना लगत्तै बेपत्ता भएका चौधरी, पत्रकारले प्रहरीमा उजुरी दिएपछि उपस्थित भएर माफी मागेका हुन् । उनले पत्रकारको क्षती भएको क्यामेरा लगायतको सामानको क्षतिपूर्ती तिरेका छन् ।
नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्का, त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष रमेश रसाईली, स्वतन्त्र पत्रकार सेनानी हरिकुमार राई, प्रेस सेन्टर नेपाल प्रदेश सचिव गजेन्द्र राई, पत्रकार महासंघ शाखा सचिव विश्वराज तामाङ, प्रेस सेन्टर नेपाल उदयपुरका अध्यक्ष सुपराज राई लगायत पत्रकारहरुको उपस्थिति तथा रोहबरमा माफि मागेका हुन् । प्रहरी नायव उपरिक्षक राजन चापागाईको रोहबरमा आगामी दिनमा गल्ती नदोहोर्याउने भन्दै प्रहरीमा कागजसमेत गरिएको छ ।
उनलेे प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको सम्मान गर्ने र पत्रकारको समाचार संकलनमा सहयोग गर्ने प्रतिबद्धतासमेत ब्यक्त गरेका छन् ।
असाेज २३ गते बुधबार राैता स्प्रिङ वाटर प्रा.लि.द्वारा उत्पादित खानेपानीकाे सिलप्याक जारभित्र कुखुराकाे प्वाँख फेला परेकाे उपभोक्ताकाे सुचनापछि प्रमाण सहित साे विषयमा रिपाेर्टिङमा गएकाे पत्रकार टीममाथी खानेपानी कम्पनीमा आक्रमण गरिएको थियाे ।
राैता स्प्रिङ वाटर प्रालिले क्यामराकाे क्षतिपूर्ति दिने र जनस्वास्थ्यमा खेलबाड गरेको विषयमा गुणस्तर तथा नाप ताैल विभागबाट छानविन गरि आवश्यक कारवाही गर्ने सहमति भएकाे प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य तथा पूर्णपुष्टि मिडियाका सञ्चालक पत्रकार भाेटराज राईले जानकारी दिनुभयाे । राईका अनुसार प्रहरीकाे राेहबरमा सहमति भएको हाे ।
प्रेस सेन्टर नेपालले उदयपुरका पत्रकारमाथि आक्रमण गरि क्यामरा ताेेडफाेड गर्नेमाथि कडा कारवाहीकाे माग गरेको थियाे ।
पत्रकारलाई आक्रमण गर्नेमाथि कडा कार्वाही गर्न प्रेस सेन्टरकाे माग
उदयुरमा असाेज २३ गते बुधबार राैता स्प्रिङ वाटर प्रा.लि.द्वारा उत्पादित खानेपानीकाे सिलप्याक जारभित्र कुखुराकाे प्वाँख फेला परेकाे उपभोक्ता सुचनापछि प्रमाण सहित साे विषयमा रिपाेर्टिङमा गएकाे प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य भाेटराज राईद्वारा सञ्चालित पूर्णपुष्टि मिडियाकाे क्यामेरा खाेसेर राैता स्प्रिङ वाटर प्रा.लि. माेतिगडा गाईघाटका सञ्चालक पर्शुराम चाैधरीसहितले क्यामरा ताेडफाेड गरेकाे र पत्रकारमाथि हातपात र माेवाईल कब्जा गरेको घटनाप्रति खेद प्रकट गर्दै प्रेस सेन्टर नेपाल केन्द्रीय महासचिव सन्ताेष पाैडेलले प्रेस विज्ञप्तिमार्फत आक्रमणकारीमाथी कडा कारवाहीकाे माग गर्नुभएकाे थियाे ।
