मेलम्चीको पानी ३ दिनभित्र काठमाडौंका धारामा आउने

मूलखबर संवाददाता
काठमाडौं, २२ असाेज

मेलम्चीको पानी तीन दिनभित्रमा काठमाडौं उपत्यकामा वितरण गरिने भएको छ । खानेपानीमन्त्री प्रदीप यादव सोमबार सिन्धुपाल्चोकको हेलम्बुस्थित मेलम्ची मुहानमा गएर स्थानीयको माग पूरा गराउने सहमति गरेपछि आज मंगलबार पानी सुरुङमा प्रवेश गराउने कार्यक्रम बनेको छ ।

मन्त्री यादवको नेतृत्वमा मेलम्ची विकास समितिका अधिकारीहरु तथा हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाको नेतृत्वमा स्थानीय संघर्ष समितिबीच सोमबार राति सहमति भएपछि सुरुङमा पानी पठाउने तयारी गरेको हो । मन्त्री यादवले स्थानीय राखेको माग पूरा गराउन दिनभर छलफल गरेका थिए ।

हेलम्बुमा २०७८ सालमा आएको बाढीबाट प्रभावितहरुको पुनर्स्थापना, सडक, पुल तथा भौतिक संरचना निर्माण तथा पानीको महसुलको निश्चित प्रतिशत रकम हेलम्बुको विकासमा लगाउने सम्बन्धी सहमति भएपछि स्थानीयले पानी सुरुङमा प्रवेश गराउन दिने भएका हुन् ।

हेलम्बु गाउँपालिकाको कार्यालयमा भएको वार्तामा गरिएको सहमति कार्यान्वयनमा आफू इमान्दारीपूर्वक लाग्ने जानकारी मन्त्री यादवले दिएकाे खबर कान्तिपुरमा छ ।