बाढी, पहिराे र डुबानमा परी मृत्यु हुनेकाे संख्या २३६ पुग्याे, १९ वेपत्ता, ४६६७ घर पुर्ण क्षति

मूलखबर संवाददाता
काठमाडौं, १८ असाेज

असोज ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २ सय ३६ पुगेको छ ।

गृहमन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार ११४ जना पुरुष, ३२ महिला र १९ बालबालिका गरी जम्मा २३६ जनाको मृत्यु भएको हो । अझै १९ जना बेपत्ता छन् । घाइतेहरुको संख्या १६५ छ ।

बाढी पहिराेबाट बागमती प्रदेशमा सबैभन्दा बढी क्षति पुगेकाे छ । काभ्रे, ललितपुर, काठमाडौं, भक्तपुर, मकवानपुर  र धादिङमा मानविय क्षति बढी भएको छ भने काेशी, बागमती र गण्डकी प्रदेशमा समेत धनमाल र पुर्वाधारमा क्षति पुगेकाे छ ।

हालसम्म १७ हजार जनाको उद्धार गरिएको गृह मन्त्रालयले जनाएको छ । ९१० जनालाई हेलिकप्टरबाट उद्धार गरिएको छ । बाढीपहिरोबाट सडक, पुल लगायतका संरचनाहरुमा करोडौंको क्षति पुगेको छ ।

बाढी पहिरोमा परी ४ हजार ६६७ घरहरु पूर्णरुपमा क्षति पुगेको छ । आंशिक क्षति पुगेका घरहरुको संख्या भने ५ हजार ३१० छ । १६ हजार २४३ परिवार बाढीपहिरोबाट प्रभावित भएका छन् भने १० हजार ८०७ जना विस्थापित भएका छन् ।

११ वटा जलविद्युत आयोजना, ६ वटा सिंचाइ आयोजना, १० राजमार्ग ४४ वटा सस्पेन्सन ब्रिजमा क्षति पुगेको छ ।

९६ वटा विद्यालय र ६६ वटा स्वास्थ्य संंस्थामा पनि बाढी पहिरोले क्षति पुगेको गृह मन्त्रालयको तथ्यांक छ ।