पुर्वी तराईबाट काठमाडौं वैकल्पिक सडक मार्ग खुल्याे

मूलखबर संवाददाता
काठमाडौं, १८ असाेज

बाढीले खुर्कोटको पुल बगाएर सडक सम्पर्क विच्छेद भएका बेला पूर्वी तराईबाट राजधानी काठमाडौंसम्म आउन थप वैकल्पिक सडक मार्ग खुलेको छ ।

रामेछाप, ओखलढुंगा र सोलुखुम्बुका सवारीसाधनका लागि पुष्पलाल (मध्यपहाडी) राजमार्ग सञ्चालनमा आएको हो । पहिरोले अवरुद्ध भएको दोलालघाटदेखि जिरोकिलो हुँदै नगरकोटबाट जगाती आउने अर्को सडक सोमबारदेखि नै सञ्चालनमा छ ।

असोज १२ को बाढीले तामाकोशी गाउँपालिका–५ किर्नेटारमा खिम्ती जलविद्युत् केन्द्रको विद्युत्गृह नजिकै पुष्पलाल राजमार्गको ४ सय मिटर खण्ड तामाकोशी नदीले कटान गरेको थियो । खिम्ती जलविद्युत् केन्द्रका प्रतिनिधि, रामेछाप र दोलखाका प्रमुख जिल्ला अधिकारीसहित राजनीतिक दलहरूको सहमतिमा जलविद्युत् केन्द्रको आवास क्षेत्रबाट नयाँ ट्र्याक खन्ने सहमति मंगलबार भएको थियो । ट्र्याक खन्न बुधबार बिहानैबाट २ वटा एक्स्काभेटर प्रयोग गरिएको थियो । ‘दिनभरिमा सडकको ट्र्याक खन्ने काम सकिएको छ,’ दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले भने ।

बर्दिबासबाट सिन्धुलीको मूलकोट नजिकैसम्म बीपी राजमार्ग सञ्चालनमा छ । खुर्कोटबाट ३० किलोमिटर यात्रापछि रामेछाप र सिन्धुली जोड्ने सित्खाको मोटरेबल पुल भएर खाँडादेवी गाउँपालिका हुँदै करिब ३४ किलोमिटर सडक पार गरेपछि मन्थली निस्कन सकिन्छ । उक्त सडक कालोपत्र छ । मन्थलीबाट सिधै पुष्पलाल राजमार्गबाट दोलखाको चरिकोट हुँदै अरनिको राजमार्गबाट राजधानी जोडिन्छ । बर्दिबासबाट यो वैकल्पिक मार्ग प्रयोग गरेर राजधानी पुग्न ३ सय १५ किलोमिटरको यात्रा गर्नुपर्ने हुन्छ ।