सकेसम्म रात्रीकालिन यात्रा नगर्नु : माैसमविद

मूलखबर संवाददाता
काठमाडौं, १४ असाेज

दशै नेपालीको महान चाड हाे । दशैंमा सबै परिवार एकैठाउँमा जम्मा भएर टीका लगाउने चलन छ । यसपटक पनि दहैंमा धेरै नेपाली दाजुभाइ दिदिबहिनी काठमाडौं छाडेर आफ्नो घर तर्फ जाने साेचमा हुनुहुन्छ हाेला ।

केही दिन अघि तिनदिन सम्म आएकाे अविरल वर्षाले जनजीवन नराम्ररी प्रभावित भयाे १ सय ५० भन्दा बढीको ज्यान गयाे भने मुख्य राजमार्ग विग्रिएका छन् । वर्षा त राेकिएकाे छ । तर पनि पुरै खतरा टरिसकेकाे छैन ।

मौसमविद्हरुले भने तत्कालै फेरि यस्तै भारी वर्षाको सम्भावना नभएपनि यात्रा गर्दा सतर्कता अपनाउन सुझाव दिएका छन् । भारी वर्षाले जमिन गलेका कारण सकेसम्म रात्रीकालीन यात्रा नगर्नु उपयुक्त हुने मौसमविद्हरुको सुझाव छ ।

शुक्रबार र शनिबार एकैसाथ भारी वर्षा भएकोमा आइतबारदेखि मौसममा सुधार देखिएको छ । मंगलबार पनि त्यसको निरन्तरता हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तर बुधबारदेखि भने फेरि देशको पूर्वी भेगमा भारी वर्षाको सम्भावना रहेको छ । विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार गजुरेलले बुधबार दिउँसो र राति कोशी र बागमतीका केही ठाउँहरुमा भारी वर्षाको सम्भावना रहेको बताए ।