
सर्वाेच्चद्वारा सिधा कुराका पत्रकारलाई कैद सजायको फैसला
सर्वोच्च अदालतले सिधाकुरा डटकम’ ले ‘डार्क फाइल’ का नाममा प्रसारण गरेको अडियो सामग्री ‘फेक’ भएको ठहर गरेको छ । आइतबार सर्वोच्चको ९ सदस्यीय बृहत् पूर्ण इजलासले अदालतको अवहेलना भएको भन्दै उत्पादक तथा प्रसारकहरूलाई कैद सजाय सुनाएको छ ।
सिधाकुराले ‘स्टिङ अपरेसन’ भन्दै तयार गरेको नक्कली अडियोमा न्यायाधीश, कानुन व्यवसायी, सञ्चार उद्यमी र पत्रकारसमेतलाई लाञ्छित गरिएको थियो ।
प्रयोगशाला परीक्षणमा समेत ‘फेक’ प्रमाणित भएको अडियो बनाउने राजकुमार तिमिल्सिनालाई ६ महिना कैद र त्यो प्रसारण गर्ने ‘सिधाकुरा डटकम’ का युवराज कँडेल र नवीन ढुंगानालाई ३/३ महिनाको कैद सजाय सुनाएको हो । त्यस्तै, ‘सिधाकुरा’ अनलाइनलाई ५ हजार जरिवाना हुने पनि फैसलामा उल्लेख छ ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ तथा न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, हरिप्रसाद फुयाल, नहकुल सुवेदी, विनोद शर्मा, महेश शर्मा पौडेल र बालकृष्ण ढकालसहितको बृहत् पूर्ण इजलासले आइतबार उक्त फैसला सुनाएको हो । अदालतको आदेशबमोजिम आइतबार नै केन्द्रीय कारागार जगन्नाथ देवल चलान गरिएको छ ।
