झ्याप्लेखोला पहिरो : हराइरहेको भनियको गोरखाको बसबाट निकालियो ५ जनाको शव

मूलखबर संवाददाता
काठमाडौं

         पृथ्वी राजमार्ग अन्तर्गत झ्याप्ले खोलामा पहिरोले पुरिएको अवस्थामा भेटिएको गोरखाको लापुबाट छुटेको यात्रुवाहक बसबाट ५ जनाको शव निकालिएको छ ।

    शुक्रबार रातिबाट सम्पर्कविहीन बनेको बा ४ ख २२७० नम्वरको बस आइतबार झ्याप्लेखोलामा पुरिएको अवस्थामा फेला परेको थियो । पहिरोमा पुरिएको बसमा सवार ५ जना मृत भेटिएको गोरखा दरौदी यातायात सेवा प्रालिका अन्जन खत्रीले जानकारी दिए । चालक दलका तीन जना र दुई जना यात्रु रहेको पनि उनले बताए ।

   सवारी धनीसमेत रहेका चालक भिमसेन थापा गाउँपालिका–४ धावाका मदन परियार, चालक दलका धावा घर भएका विनय भट्टराई र फुजेलका नवराज तिवारी, धार्चे गाउँपालिका–७ का सुकबहादुर गुरुङको शव भेटिएको उनले बताए ।

अर्का एक यात्रुको भने पहिचान खुल्न सकेको छैन । धार्चे गाउँपालिका–७ लापुवेशीबाट छुटेको बस शुक्रबार रातिबाट सम्पर्कविहीन बनेको थियो ।