बाढीका कारण १६ वटा जलविद्युत् आयोजनामा क्षति, विद्युत् उत्पादन बन्द

मूलखबर संवाददाता
काठमाडौं

अविरल वर्षापछि आएको बाढीपहिरोका कारण विभिन्न १६ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)का अनुसार बाढीका कारण आयोजनाहरुको विद्युत्गृह, प्रसारण लाइन तथा अन्य संरचनामा क्षति पुगेको हो ।

हाल ती आयोजनामा भएको क्षतिको विवरण सङ्कलन भइरहेको जानकारी दिँदै इप्पानले थप क्षति भएको हुनसक्ने आकलन गरेको छ ।

नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी माथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेडले प्रवर्द्धन गरेको माथिल्लो तामाकोशीको बाँध स्थल तथा बालुवा थिग्र्याउने पोखरीमा क्षति पुगेको छ । सो आयोजनाको नियन्त्रण कक्ष रहेको भवनमा क्षति पुग्दा सुरक्षाकर्मी र अन्य कामदार गरी चार जना बेपत्ता भएको प्रमुख कार्यकारी अधिकृत मोहन गौतमले जानकारी दिनुभयो ।

आयोजना सञ्चालनका लागि तामाकोशी पाँचौंको सहयोग लिन लागिएको छ । कुल चार सय ५६ मेगावाट क्षमताको सो आयोजनाबाट विद्युत् उत्पादन बन्द हुँदा बिजुली आयात गर्नुपरेको जनाइएको छ ।

बाढी पहिरोका कारण विद्युत् उत्पादन केन्द्रमा क्षति पुग्दा बिजुली प्रवाहमा समेत समस्या भएको छ । वैकल्पिक व्यवस्था गरी बिजुली काटिएका स्थानमा उपलब्ध गराइएको र केही स्थानमा भने अझै मर्मत जारी रहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । बाढीपहिरोका कारण प्राधिकरणका अनुसार देशभर नौ सय ८० मेगावाट घण्टा बराबरको बिजुली आपूर्तिमा अवरोध छ ।

इप्पानका अनुसार मान्डू हाइड्रोपावरद्वारा प्रवर्द्धित २२ मेगावाट क्षमताको बागमती साना जलविद्युत् आयोजनाको ‘पावर हाउस’ पूर्णरुपमा डुबेको छ । खानीखोला हाइड्रोपावर, माण्डु हाइड्रोपावरलगायतका आयोजनाले बाढीका कारण विद्युत् उत्पादन बन्द भएको जानकारी नेपाल स्टक एक्सचेञ्जलाई समेत गराएका छन् ।

बाढीका कारण माउन्टेन हाइड्रो नेपालद्वारा प्रवर्द्धित २२ दशमलव एक मेगावाट क्षमताको तल्लो हेवाखोला जलविद्युत् आयोजनाको बिजुली उत्पादन बन्द भएको छ ।

यसैगरि इप्पानका अनुसार पाँचथर पावरद्वारा प्रवर्द्धित १४ दशमलव नौ मेगावाट क्षमताको हेवाखोला जलविद्युत् आयोजना,  साहस ऊर्जाद्वारा प्रवर्द्धित ८६ मेगावाटको सोलु दूधकोशी जलविद्युत् आयोजना, सगरमाथा जलविद्युत् कम्पनीद्वारा प्रवर्द्धित नौ दशमलव छ मेगावाट क्षमताको माइखोला जलविद्युत् आयोजना,  इलेप खोला तातोपानी जलविद्युत् आयोजना, हेवाखोला जलविद्युत् आयोजना,  सभाखोला बी जलविद्युत् आयोजना, सुपर त्रिशूली जलविद्युत् आयोजनामा क्षती पुर्याएको छ । आयोजनाको बेलीब्रिज बगाएको, खन्ने क्रममा रहेको पावर हाउस पुरिएको इप्पानले जनाएको छ ।

बाढीका कारण प्रभावित आयोजनाबाट विद्युत् उत्पादन बन्द हुँदा त्यसको चाप प्राधिकरणको प्रणालीमा परेको छ । सोही कारण शनिबार मात्रै प्राधिकरणले भारतबाट थप तीन सय मेगावाट बिजुली आयात गर्नुपरेको थियो ।