प्रचण्डद्वारा धनजनकाे क्षतिप्रति दुःख, सरकारप्रति खेद र उद्वारकर्तालाई धन्यवाद व्यक्त

मूलखबर संवाददाता
काठमाडौं, १३ असाेज

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाढी पहिराे र विपदले पुगेकाे जनधनकाे क्षति र पीडाप्रति दुख व्यक्त गर्दै सरकारले जनताकाे जिउ धनकाे सुरक्षामा देखाएकाे उदासिनताप्रति खेद व्यक्त गरेका छन् ।

पुर्वप्रधानमन्त्री समेत रहेका प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले एक बक्तब्य जारी गर्दै  भनेका छन्- राष्ट्र र जनताले भोग्नुपरेको यो क्षति र पीडाप्रति गहिरो दुःख व्यक्त गर्दछु । मृतकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।

त्यसैगरी उनले सरकारकाे गैरजिम्मेवारी उदासिनताप्रति खेद प्रकट गर्दै भनेका छन्- भारी वर्षाको पूर्वाअनुमान हुँदाहुँदै पनि संभावित जोखिम पहिचान गरेर क्षति न्यूनीकरणका लागि सरकारले तत्काल पहलकदमी लिन नसकेकोप्रति दुःख व्यक्त गर्दछु । राजधानीमै उद्धारका लागि लामो समय प्रतिक्षा गर्दागर्दै बाढीमा बग्नुपर्ने जुन पीडादायी अवस्था देखियो, यसले जनताप्रति सरकारको चरम उदासीनता पुष्टि गर्दछ ।

प्रचण्डले उद्वारमा सहभागी पार्टी कार्कर्तासहित सबैलाई धन्यवाद दिएका छन् ।

प्रेस वक्तव्यकाे पूरा पाठ-
केही दिनयताको अविरल वर्षाको कारण ठूलो जनधनको क्षति भएको छ । पछिल्लो विपद्मा मात्रै झण्डै एक सय बढी नागरिकको ज्यान गएको छ भने ठूलो संख्यामा बेपत्ता र घाइते भएका छन् । हजारौं नागरिक घरवारविहीन भएका छन् । बाढी र पहिरोका कारण व्यक्तिका निजी सम्पत्तिदेखि सार्वजनिक पूर्वाधारको क्षेत्रमा ठूलो क्षति भएको छ । राष्ट्र र जनताले भोग्नुपरेको यो क्षति र पीडाप्रति गहिरो दुःख व्यक्त गर्दछु । मृतकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।

अहिले पनि ठूलो संख्यामा नागरिक बेपत्ता भएकाले उनीहरुको खोजी गर्नु, घाइतेहरुको उपचार गर्नु, घरबारविहीन भएकाहरुलाई सुरक्षित गर्दै पुनस्र्थापनाको काम सुरु गर्नु पहिलो कर्तव्य हुनेछ । तत्काल बेपत्ता नागरिकको खोजी, घाइतेहरुको निःशुल्क उपचार र विस्थापितहरुलाई पुनस्र्थापनाका लागि सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछु । भारी वर्षाको पूर्वाअनुमान हुँदाहुँदै पनि संभावित जोखिम पहिचान गरेर क्षति न्यूनीकरणका लागि सरकारले तत्काल पहलकदमी लिन नसकेकोप्रति दुःख व्यक्त गर्दछु । राजधानीमै उद्धारका लागि लामो समय प्रतिक्षा गर्दागर्दै बाढीमा बग्नुपर्ने जुन पीडादायी अवस्था देखियो, यसले जनताप्रति सरकारको चरम उदासीनता पुष्टि गर्दछ ।

अहिले पनि विभिन्न स्थानमा मुख्य राजमार्गसहित सडक, सञ्चार र विद्युतका पूर्वाधार क्षतिग्रस्त अवस्थामा छन् । नेपालीहरुका मुख्य पर्व दशैं तिहार नजिकिएकाले युद्धस्तरमा पुनर्निर्माणका काम थालेर सबै आधारभूत सेवा पूर्ववतरुपमा सञ्चालनका लागि तत्काल पहल अघि बढाउन सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछु ।

हाम्रो पार्टीका सम्बन्धित क्षेत्रमा रहनुभएका सबै नेता कार्यकर्ता साथीहरु उद्धार र पुनस्र्थापनाको काममा लागिरहनुभएको छ । उहाँहरु सबैलाई धन्यवाद दिंदै बेपत्ता नगारिकको खोजी, बिस्थापितहरुको पुनस्र्थापना, क्षतिग्रस्त संरचनाको पुनर्निर्माण लगायतका कार्यमा निरन्तर लाग्न पुनः निर्देशित गर्दछु ।
१३ असोज, २०८१
नेपाल संवत् ११४४ यंलागाः १२ पुष्पकमल दाहाल ‘प्रचण्ड’
(अध्यक्ष)