
माैसम : अझै केही दिन वर्षाकाे सम्भावना, यी प्रदेशमा हुनेछ भारी वर्षा र चट्याङ
असाेजकाे दाेस्राे हप्ता भइसक्दा पनि वर्षा जारी छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले अझै केही दिन वर्षाकाे सम्भावना रहेकाे जनाएको छ । विभागले मनसुनको न्यूनचापीय रेखा बुधबार सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जनाएको छ।
विधागका अनुसार कोशी, बाग्मती, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ भने कोशी प्रदेशका तराई तथा मधेस प्रदेशका थोरै स्थानहरुमा हावाहुरीको समेत सम्भावना छ।
देशभर मनसुनी वायुको प्रभाव कायमै छ। साथै बंगालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ।
त्यसकारण बिहान मौसमको अवस्था देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ भने कोशी, मधेस,बागमती, गण्डकी ,लुम्बिनी प्रदेशका केही र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
मनसुन सकिन केही साता बाँकी छँदै यो वर्ष सरदरभन्दा बढी वर्षा भइसकेको जल तथा मौसम विज्ञान विभागले जनाएको हाे।
नेपालमा मनसुनको अवधिमा सरदर १,४७९.७ मिलिमिटर वर्षा हुन्छ। विभागको तथ्याङ्कअनुसार असोज ७ गतेसम्म १५१२.१२ मिलिमिटर पानी परिसकेको छ।
नेपालबाट मनसुन प्रायः अक्टोबर २ (असोज १६) मा बाहिरिन्छ। तर केही विज्ञहरूले यसपालि मनसुन केही दिन लम्बिन सक्ने सङ्केत देखिएको बताएका छन्।
