वेपत्ता विपिन जोशीको रिहाईको लागि परराष्ट्रमन्त्री राणाको विश्वसमुदायसँग अपील

मूलखबर संवाददाता
काठमाडौं

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरायलमा लामो समयदेखि वेपत्ता पारिएका नेपाली युवा विपीन जोशीको सकुशल रिहाइका लागि सहगोग गरिदिन विश्व समुदायसँग आग्रह गरेकी छन् । असंलग्न राष्ट्रहरुको संगठन, नामको मन्त्रिस्तरीय बैठकलाई सोमबार अमेरिकाको न्युयोर्कमा सम्बोधन गर्दै मन्त्री डा। राणाले जोशीको रिहाइका लागि विश्व समुदायसँग पहलका लागि आग्रह गरेकी हुन् ।

उनले नेपाल विपीन जोशीको स्वागतका लागि व्यग्र प्रतिक्षामा रहेको भन्दै यसका लागि विश्व समुदायको सहयोगको आग्रह गरेकी हुन् । गत अक्टोबरमा हमास समूहद्वारा इजरायलमा भएको आतंककारी आक्रमणमा १० जना नेपालीको ज्यान गएको थियो । सो आक्रमणपछि हमासले जोशीलाई अपहरण गरी लगेका थिए ।

मन्त्री डा राणाले अहिले पनि विश्वका देशहरु निरन्तर रुपमा जारी रहेका यस्ता द्वन्द्व रोक्न, युद्धबाट सृजित समस्याहरुको समाधान खोज्न र नागरिकमा शान्ति र अमनचयन कायम गर्न चुकेको अवस्था देखिएको पनि बताइन् ।

‘हामीहरु जेनेभा कन्भेन्सनको ७५ औँ वर्षमा छौँ तर पनि नागरिकहरुको रक्षाका लागि सो कन्भेन्सनले आत्मसात गरेका सिद्धान्तहरुलाई नदेखेझैँ गरी बेवास्ता गरिरहेका छौँ या कतै गलत व्याख्याका प्रयास पनि गरिरहेका छौँ । यस्तो अवस्थाको छिट्टै अन्त्य हुनुपर्छ र हामीहरु सबै शान्तिपूर्ण सहअस्तित्वका साथ अघि बढ्नुपर्छ,’ उनले सम्बोधनमा भनिन् ।

परराष्ट्रमन्त्री डा राणाले गाजामा नागरिकहरुको मृत्यु र यसको संख्या सुन्दा र देख्दा बडो हृदयविदारक रहेको तथा रुस युक्रेन युद्धमा नागरिकहरुले पाइरहेको दुःख पनि त्यस्तै रहेको भन्दै यस्ता हिंसाजन्य कार्यहरु तत्कालै रोकी समस्याको शान्तिपूर्ण निकास खोज्न आग्रह गरिन् । यस्ता कार्यले कसैलाई पनि न्याय गर्न नसकेकोतर्फ सबै सचेत हुनुपर्ने उनको भनाइ थियो ।

‘नेपाल गाजामा नागरिक, पत्रकार, राष्ट्रसंघीय कर्मचारी, स्वास्थ्यकर्मी तथा सबै सर्वसाधारण नागरिकको हत्या, पूर्वाधारहरुमाथिको आक्रमणको निन्दा गर्दछ,’ उनले भनिन्, ‘त्यहाँ अस्पताल, निजी घरहरु, विद्यालय आदिको क्षतिले मानिसहरुलाई डर र त्रासमा बस्न बाध्य पारिएकाले यस्ता कार्य तत्कालै रोक्नुपर्छ ।’

सो बैठकमा मन्त्री डा राणाले नेपाल सरकारले सो हमलाको निन्दा गर्दै जोशीको सकुशल रिहाइको माग गर्दै आएको बताइन् । सम्बोधनका क्रममा मन्त्री डा राणाले विश्वमा हाल शान्ति स्थापनाको लागि सामूहिक पहलको खाँचो रहेको पनि औंल्याइन् ।

विभिन्न नाम र बहानामा विश्वका कैयौँ ठाउँमा अहिले पनि युद्ध, विद्रोह तथा हिंसाजन्य कार्यहरु भइरहेकाले हत्या हिंसाको अन्त्य र शान्तिको स्थापनाका लागि विश्वले नै सामूहिक पहल गर्नुपर्ने अवस्था आएको उनको भनाइ थियो ।