इजरायलको हवाई आक्रमणमा कम्तीमा १ सय ८२ जना लेबनानी मारिए

मूलखबर संवाददाता
काठमाडौं, ७ असोज ।

दक्षिणी लेबनानमा इजरायलले सोमबार गरेको हवाई आक्रमणमा कम्तीमा १ सय ८२ जना लेबनानी मारिएका छन् । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार आक्रमणमा ७ सय २७ जना घाइते भएका छन् ।

बीबीसीका अनुसार घाइते हुनेमा कतिपय महिला, बालबालिका र स्वास्थ्यकर्मी छन् । अधिकारीहरूले मृतकको संख्या अझै बढी हुन सक्ने बताएका छन् । इजरायली सेनाले भने लेबनानस्थित सशस्त्र समूह हेजबुल्लाहका अखडालाई लक्षित गरी आक्रमण गरेको दाबी गरेको छ । तर आक्रमणमा मारिएका हेजबुल्लाह लडाकुको संख्या भने उल्लेख गरेको छैन ।

इजरायली सेना आईडीएफका प्रवक्ता डानियल हगारीले दक्षिणी लेबनानका तीन सय स्थानलाई लक्षित गरी आक्रमण गरिएको बताएका छन् । ‘हामीले आक्रमण गरेका हरेक घरमा हातहतियार थिए,’ उनले भनेका छन् । हगारीले इजरायली सेनाले बेका उपत्यका क्षेत्रमा रहेका हेजबुल्लाहका सैन्य केन्द्रमा छिट्टै आक्रमण गर्ने बताएका छन् ।

इजरायलले गत अक्टुबर ७ मा हमासविरुद्ध युद्ध सुरू गरेयताकै भयानक आक्रमण गरेको हो । प्यालेस्टिनी समूह हमासले गत वर्ष उत्तरी इजरायलमा गरेको आक्रमणमा कम्तीमा १२ सय जनाको ज्यान गएको थियो । त्यसका साथै हमासले २ सय ५० भन्दा बढीलाई बन्धक बनाएर लगेको थियो ।