दसैँ–तिहार सुरक्षा योजना: १२ हजार प्रहरी परिचालन, दुई दर्जन सहायता कक्ष राखिँदै

मूलखबर संवाददाता
काठमाडौं

नेपालीहरूको महान् पर्व दसैँ, तिहार र छठ नजिकिँदै छ । दसैँ र तिहारमा काठमाडौँ उपत्यका छाडेर लाखौँ मानिसहरू आफ्नो पुर्ख्यौली थातथलोमा फर्किन्छन् ।

उपत्यका छाड्नेको लर्कोका कारण यात्रुको टिकटमा ठगी, खाद्यान्नमा कालोबजारी, चोरी र डकैतीका घटना हरेक वर्ष हुन्छन् । चाडपर्वमा सबैभन्दा धेरै अपराधका घटना काठमाडौँ, भक्तपुर र ललितपुरमा हुने गरेका छन् ।

चाडपर्वमा हुने आपराधिक घटना नियन्त्रण गर्न प्रहरीले सुरक्षा योजना बनाएर सुरक्षाकर्मी परिचालन गर्ने गरेको छ । काठमाडौँ, भक्तपुर र ललितपुरका प्रहरीले अहिले सुरक्षा योजना तयार गरिरहेका छन् ।

काठमाडौँ जिल्लामा मात्रै करिब ५ हजार प्रहरी परिचालन गर्ने गरी जिल्ला प्रहरी परिसर काठमाडौँले सुरक्षा योजना तयार गरिरहेको छ ।

दसैँ र तिहारमा हुने अपराधजन्य घटना नियन्त्रण गर्न काठमाडौँका परिसर र मातहतमा डीएसपीले कमाण्ड गर्ने १४ वटा प्रहरी वृत्तले करिब ५ हजार प्रहरी परिचालन गर्दै छन् ।

भक्तपुर प्रहरीले पनि चाडपर्वको समयमा हुने चोरी, डकैती र जुवातास नियन्त्रण गर्न सुरक्षा योजना बनाइरहेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी मोहनमणि अधिकारी भन्छन्, ‘गत वर्षहरूका योजना र घटनाको विश्लेषण गरेर परिमार्जित योजना तयार गर्दै छौँ ।’

ललितपुर प्रहरीले दसैँ, तिहार र छठमा जिल्लाभर १ सय ८३ ठाउँमा प्रहरी परिचालन गर्ने गरी सुरक्षा योजना बनाउँदै छ । जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता (एसपी) नरेश सुवेदीले प्रत्येक २४ घण्टामा ३ हजारभन्दा बढी प्रहरी परिचालन गर्ने गरी सुरक्षा योजना बनाइरहेको रातोपाटीलाई बताए । सुवेदीले भने, ‘नियमित पुलिसिङ बाहेक हुनसक्ने अपराध नियन्त्रण गर्ने गरी सुरक्षा योजना लागु गर्छौँ ।’

दसैँको समयमा शक्तिपीठहरुमा भीआईपीहरूको आवागमन हुन्छ । आवागमनलाई कसरी व्यवस्थित बनाउने भनेर ललितपुर प्रहरीले सुरक्षा योजना बनाइरहेको छ ।

उपत्यका छाडेर मानिसहरू बाहिरिँदा घर र डेरामा चोरीका घटना धेरै हुन्छन् । त्यस्ता घटना हुन नदिने गरी मातहतलाई सुरक्षा योजना बनाएर ल्याउन भनिएको उपत्यका प्रहरी कार्यालयका एसएसपी विनोद घिमिरेले बताएका छन्। उनले भने, ‘विगतको फिडब्याक लिएर सुरक्षा योजना बनाउँदै छौँ ।’

उपत्यका प्रहरी कार्यालयले मातहतका जिल्लाहरूलाई चाडपर्वको सुरक्षामा आवश्यक थप मद्दत कति चाहिन्छ भनेर सोधेको छ । चाडपर्व अवधिभर उपत्यकामा १० देखि १२ हजार प्रहरी परिचालन गर्ने गरी सुरक्षा योजना तयार भइरहेको एसएसपी घिमिरेले जानकारी दिएका छन् ।

दुई दर्जन सहायता कक्ष राखिँदै
दसैँ तिहारको सुरक्षा र कालाबजारी नियन्त्रण गर्न काठमाडौँमा गस्ती बढाइने भएको छ । उपत्यकाबाट बाहिरिने बसमा सादा पोसाक र हतियार सहित पनि गस्ती गर्ने गरी योजना बनाइरहेको छ ।

टिकटमा हुने कालाबजारी नियन्त्रण र यात्रुको समस्या समाधान गर्न काठमाडौँका करिब दुई दर्जन स्थानमा यात्रु सहायता कक्ष राख्नेगरी उपत्यका प्रहरी कार्यालयले काम गरिरहेको छ । यात्रु सहायता कक्षामा ट्राफिक र स्थानीय प्रहरी खटिन्छन् ।