
देशको गौरव भनेकै भाषा र साहित्य : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले भाषिक तथा सांस्कृतिक बहुलता एवम् भौगोलिक विविधताले युक्त हाम्रो देशको गौरव र पहिचान भनेकै हाम्रा भाषा, साहित्य, संस्कृति भएको धारणा व्यक्त गर्नुभएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानको ६७ औँ वार्षिक उत्सवका अवसरमा प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कविता महोत्सव, २०८१ को पुरस्कार समर्पण समारोहलाई राष्ट्रपति भवन शीतल निवासमा सोमबार सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गर्नुभएको हो ।
नेपालमा बोलिने जुनसुकै मातृभाषाका कविताले पनि महोत्सवमा सहभागिता जनाउन सकिने व्यवस्था गरी महोत्सवलाई अझ सहभागितामूलक बनाइएको र यसबाट कविहरूको सहभागितामा उल्लेख्य रूपमा बढोत्तरी भएको थाहा पाउँदा खुसी लागेको उहाँको भनाइ थियो ।
“मलाई आशा छ, आगामी वर्षहरूमा नेपालका सबै भाषाका कविता राष्ट्रिय कविता महोत्सवमा सहभागी हुनेछन् र राष्ट्रिय कविता महोत्सव नेपाली कविताको विकासका लागि कोशेढुङ्गा साबित हुनेछ”, राष्ट्रपति पौडेलले भन्नुभयो । सो अवसरमा राष्ट्रपति पौडेलले विजयी कविहरूलाई पुरस्कार प्रदान गर्नुभयो ।
