लेबनानभरी एकै साथ पेजर विष्फोट : ९ को मृत्यु, २८ सय जना घाइते

मूलखबर संवाददाता
काठमाडौं, २ असोज ।

लेबनानमा सशस्त्र समूह हिज्बुल्लाहका सदस्यहरूले एकआपससँग सञ्चार गर्न प्रयोग गर्ने हाते पेजरहरु विस्फोटन हुँदा एक बालिकासहित नौ जनाको मृत्यु भएको उक्त देशका स्वास्थ्यमन्त्रीले बताएका छन्।

लेबननभरि एकैसाथ विभिन्न स्थानमा ती साना उपकरणहरू पड्किएका थिए। एउटा विस्फोटनमा बेइरुतमा कार्यरत इरानी राजदूत पनि घाइते भए। हिज्बुल्लाह सशस्त्र समूहले इरानबाट समर्थन पाउँदै आएको छ। अधिकारीहरूका अनुसार लेबननभरि २,८०० जना ‍घाइते भएका छन्।

हिज्बुल्लाहले ती पेजरहरू हिज्बुल्लाह एकाइ र संस्थाका कर्मचारीसँग रहेको जनाएको छ। विस्फोटनका कारण आफ्ना आठ लडाकुको मृत्यु भएको पनि उसले पुष्टि गरेको छ।

उक्त समूहले इजरेललाई उक्त आपराधिक आक्रामक कार्यका लागि दोष लगाउँदै बदला लिने उद्घोष गरेको छ। पेजर विस्फोटनबारे इजरेली सेनाले भने टिप्पणी गर्न अस्वीकार गरेको छ।

हिज्बुल्लाहले पेजर विस्फोटनमा इजरेलको हात रहेको आरोप लगाएको छ । ती विस्फोटन हुनुभन्दा केही घण्टाअघि इजरेलले विस्थापित भएका आफ्ना बासिन्दालाई देशको उत्तरी भागमा सुरक्षित रूपमा फिर्ता गर्न हिज्बुल्लाहको आक्रमण रोक्नु आफ्नो युद्धको लक्ष्य भएको बताएको थियो।
गाजामा इजरेल र हमासबीच गत वर्षको अक्टोबर ७ देखि युद्ध सुरु भएयता इजरेल(लेबनन सीमामा दिनहुँजसो गोली हानाहान हुँदै आएको छ।

हिज्बुल्लाको सञ्चार कार्यालयले आठ लडाकुको मृत्यु भएको र उनीहरूले  जेरुसलेम जाने बाटोमा हुँदा शहादत प्राप्त गरेको जनाएको छ। उसले स्थान र परिस्थितिबारे तथा पेजरहरूमा कसरी विस्फोटन भयो भन्ने केही पनि बताएको छैन।

हिज्बुल्लाहसँग निकट एक स्रोतले समाचारसंस्था एएफपीलाई बताएअनुसार मृतकमध्ये हिज्बुल्लाह सांसद अलि अमरका छोरा र अर्का एक नेताकी १० वर्षे छोरी पनि छन्।

छिमेकी देश सिरियामा पनि पेजर विस्फोटनमा परेर १४ जना घाइते भएको सिरियन अब्जर्भेटरी फर ह्यूमन राइट्सले जनाएको छ।

विस्फोटन कसरी भएको हुन सक्छ
वाल स्ट्रीट जर्नलले एक स्रोतलाई उद्धृत गर्दै विस्फोटन भएका पेजरहरू केही समयअघि मात्र हिज्बुल्लाहलाई आपूर्ति गरिएको जनाएको छ। हिज्बुल्लाहका एक अधिकारीले उक्त पत्रिकालाई बताएअनुसार विस्फोटन हुनुअघि ती पेजरहरू निकै तातेका थिए।

लिथिअम ब्याट्री धेरै तात्दा आगलागी हुन सक्छ। तर विज्ञहरूले पेजर ह्याक गरेर त्यसलाई धेरै तातो बनाउँदा प्रायः विस्फोटन नहुने बताएका छन्।

विस्फोटक पदार्थका एक भूतपूर्व विशेषज्ञले पेजर निर्माण गर्ने बेलामा नै १० ग्राम वा २० ग्राम सैन्य प्रयोजनको अतिविस्फोटक पदार्थ ती साधनमा राखिएको हुन सक्ने आशङ्का व्यक्त गरेका छन्। ती ब्रिटिश विशेषज्ञले आफ्नो नाम उल्लेख गर्न चाहेनन्। -बीबीसीबाट