त्रिविको डिन, क्याम्पस प्रमुख र परिक्षा नियन्त्रककाे पदमा २५८ काे आवेदन

मूलखबर संवाददाता
काठमाडौं, १ असाेज

त्रिभुवन विश्वविद्यालयका विभिन्न संकायमा डिन, क्याम्पस प्रमुख र सहपरीक्षा नियन्त्रक बन्न २ सय ५८ जना प्राध्यापकले आवेदन दिएका छन् । ८ संकाय/संस्थानका डिन, १७ वटा क्याम्पस प्रमुख र ७ सहपरीक्षा नियन्त्रक नियुक्तिका लागि त्रिविद्वारा गठित छनोट तथा सिफारिस समितिले आवेदन माग गरेको थियो ।

सचिवालयहरूले सोमबार दिएको जानकारीअनुसार डिन, क्याम्पस प्रमुख, सहपरीक्षा नियन्त्रक, योजना र अनुसन्धानको निर्देशकलगायत ३० पदमा नियुक्तिका लागि २ सय ५८ जनाले दरखास्त दिएका हुन् ।

चिकित्सा शिक्षा अध्ययन संस्थान (आईओएम) को डिन बन्न सबैभन्दा धेरै १३ जना प्राध्यापकले आवेदन दिएका छन् । इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) र विज्ञान, प्रविधि अध्ययन संस्थानको डिनका लागि ११–११ जनाको आवेदन परेको छ । मानविकी तथा सामाजिक शास्त्र संकायको डिनको लागि ९, वन विज्ञान अध्ययन संस्थान र शिक्षा संकाय डिनका लागि ८–८ जना प्राध्यापकले दरखास्त दिएका छन् ।

व्यवस्थापन संकायको डिन बन्न ६ र कृषि तथा पशु विज्ञान अध्ययन संस्थानको डिनका लागि ५ जनाको आवेदन परेको छ ।

पाटन संयुक्त क्याम्पस र भैरहवा क्याम्पस प्रमुख बन्न १३ जनाले आवेदन दिएको छनोट समितिले जनाएको छ । पृथ्वीनारायण र रामस्वरूप रामसागर क्याम्पस जनकपुरको प्रमुखका लागि ९–९ जना प्राध्यापकले आवेदन दिएका छन् । सानोठिमी र सुर्खेत बहुमुखी क्याम्पस प्रमुखका लागि ८–८ जनाको आवेदन परेको छ । महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका लागि ७, रत्नराज्य लक्ष्मी (आरआर) काठमाडौं र बुटबल बहुमुखी क्याम्पस प्रमुखका लागि ५–५ जनाले दरखास्त दिएका छन् ।

ललितकला क्याम्पस कीर्तिपुर, भोजपुर बहुमुखी क्याम्पस, सूर्यनारायण सत्यनारायण क्याम्पस सिराहा र विश्वभाषा क्याम्पस काठमाडौंको प्रमुखका लागि ४–४ जनाको दरखास्त परेको छ । त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा ३, वीरेन्द्र बहुमुखी क्याम्पस चितवनमा २ सहित डोटी बहुमुखी र जुम्ला क्याम्पस प्रमुखका लागि १–१ जनाको मात्र दरखास्त परेको छ ।

छुट्टाछुट्टै समितिका अनुसार आवेदनमाथि रुजु र छानबिनको प्रक्रिया जारी छ ।

आवेदकहरूमध्येबाट नियुक्तिका आधार र मापदण्डसम्बन्धी विनियम २०८१ का आधारमा प्रतिस्पर्धा गराएर नियुक्ति दिइने उपकुलपति केशरजंग बरालले बताए । ‘छनोट समितिले नियुक्तिका लागि सिफारिस गरेपछि कार्यकारी परिषद्ले डिन, क्याम्पस प्रमुखलगायतका पदमा नियुक्ति दिन्छ,’ बरालले भने ।