
उपसभामुखलाई हटाउने गठबन्धनको तयारीमा माओवादीले गर्यो प्रतिवाद
प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउने सरकारको तयारीको विपक्षमा उभिएको छ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादीका सांसदहरुले विरोध जनाएका हुन्।
माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले उपसभामुख रानालाई हटाउन खोजे माओवादीले तीव्र प्रतिवाद गर्ने बताएका छन्। ‘उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने कुरा मिडियामा हेरियो। यदि यो सत्य हो भने हाम्रो दल त्यसरी हटाउने कुराको तीव्र प्रतिवाद गर्छ। विरोध गर्छ, यस विषयमा स्पष्ट पार्न सभामुखमार्फत् अनुरोध गर्दछु, पाण्डेले भने ।
माओवादीका सांसद हितबहादुर तामाङले उपसभामुखलाई हटाउने कुरा स्वीकार्य नहुने बताएका छन्।
यस्तै, माओवादीका अर्का सांसद सूर्यमान तामाङले पनि उपसभामुखमाथि नैतिकताको प्रश्न उठाउनुअघि नक्कली भुटानी शरणार्थी प्रकरणलाई हेर्न सरकारलाई सुझाएका छन्।
