माओवादी पार्टी संविधान संशोधन विरोधी होइन : अध्यक्ष प्रचण्ड

मूलखबर संवाददाता
काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनको विपक्षमा आफूहरू नरहेको बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज बिहान पत्रकारसँगको भेटघाटमा उहाँले संविधान संशोधनका नाममा जनताको हकअधिकार र प्राप्त उपलब्धिलाई मास्ने काम माओवादी पार्टीलाई सह्य नहुने धारणा व्यक्त गर्नुभयो ।

उत्पीडित वर्ग र समुदायका उत्थानका लागि ल्याइएको समानुपातिक एवम् समावेशी व्यवस्था हटाउने भन्ने कुरा कदापि मान्य नहुने भन्दै अध्यक्ष प्रचण्डले माओवादीले सुरु गरेको जनयुद्धबाट नै मधेसी, दलित, मुस्लिम, आदिवासी र जनजातिको अधिकार स्थापित भएको स्पष्ट गर्नुभयो ।

भ्रष्टाचारी एवम् बिचौलियालाई कारबाही प्रक्रिया सुरु गरेपछि आफ्नो नेतृत्वको सरकार सत्ताबाट बाहिरिनुपरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, “माओवादी पार्टी सत्ताबाट बाहिरिएपछि देशव्यापी रूपमा पार्टीको सङ्गठन विस्तार, सुदृढीकरण र पुनर्निर्माणमा गर्न पार्टीलाई अवसर प्राप्त भएको छ, पार्टी सुदृढीकरण अभियानमा साथ दिन सबैसँग अनुरोध गर्दछु ।”

बहुमतका नाममा जथाभाबी गर्ने छुट कोही कसैलाई पनि नरहेको स्पष्ट गर्दै अध्यक्ष दाहालले मुलुक र जनता विरोधी काम नगर्न सरकारलाई खबरदारी गर्नुभयो ।