रामेछापको शैलुङ्ग पहिरो, मृत्यु हुनेको संख्या ६ पुग्यो

मूलखबर संवाददाता
काठमाडौं, ९ भदौ

भदौको शुरुवातमा रामेछापको शैलुङ्ग गाउँपालिका ३ लेखर्क पहरीगाउँमा अविरल वर्षपछिको पहिरोमा परी मृत्यु हुनेको संख्या ६ पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार गएरातिको पहिरोले अझै चार जना हराइरहेका छन् । उनीहरुको खोजीकार्य जारी छ ।

पहिरोमा परी ५७ वर्षीया उर्मिला पहरी, ३० वर्षीय सन्दीप पहरी, ११ वर्षीय सन्तोष पहरी, १४ वर्षीय विज्ञान पहरी, ३० वर्षीया चण्डिका श्रेष्ठ र उनका १८ महिने छोरा आयुष श्रेष्ठको मृत्यु भएको छ । श्रेष्ठकी ११ वर्षीया छोरी अञ्जना घाइते छिन् । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय, टोकरपुर र दोरम्बाका प्रहरीहरु खोज तथा उद्धारमा परिचालित भएका छन् ।

पहिरोले शैलुङ गाउँपालिका वडा नम्बर २ र ३ जोड्ने अँधेरी खोलाको पक्की पुल पनि बगाएको छ । प्रहरीका अनुसार आज बिहान ३ः३५ बजे पहिरोले गाउँमा क्षति पुर्‍याएको सूचना जिल्ला प्रहरी कार्यालयमा प्राप्त भएको थियो ।

एक जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ । अविरल वर्षापछि शनिवार राति ११ः४५ बजेको समयमा गाउँभन्दा माथिबाट आएको पहिरोले लेखखर्कका ४ घर बगाउँदा हराएका ११ जनामध्ये अहिलेसम्म ६ जनाको लास भेटिएको, एक जनालाई घाइते अवस्थामा उद्धार गरिएको र बाकी ४ जनाको खोजी भइरहेको दोरम्बा सैलुङ गाउँपालिका–३ का वडा सदस्य तुल प्रसाद कँडेलले जानकारी दिनुभयो । अविरल वर्षपछिको बढी पहिरोले गाउँपालिकाको ढोही खोलाको पक्की पुल, घट्टे खोलाको पक्की पुल र छाङ खोलामा बनेका हिम पाइप बगाएको स्थानीयले बताएका छन् ।