१८ पालिकामा विद्युतकाे राष्ट्रिय ग्रीड पुग्न बाँकी, प्राधिकरणले घर खाेज्दै पुग्दैछ : घिसिङ

मूलखबर संवाददाता
काठमाडौं, ५ भदौ

नेपालका ७ सय ५३ स्थानीय तहमध्ये १८ स्थानीय तहमा विद्युत् पुग्न बाँकी रहेको देखिएको छ । ५३९ स्थानीय तहमा पूर्ण विद्युतीकरण र १९६ मा आंशिक विद्युतीकरण भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

राष्ट्रिय प्रसारण ग्रिड नपुगे पनि १८ स्थानीय तहका बासिन्दाले लघु जलविद्युत् र सौर्य ऊर्जाबाट विद्युत् उपभोग गरिरहेको प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ । प्राधिकरणले देशभरका स्थानीय तहका गाउँपालिका र नगरपालिकाका वडासम्मको विस्तृत अध्ययन गरी तयार पारेको विद्युतीकरण तथ्याङ्क, २०८१ अनुसार कुल जनसङ्ख्याको ९९ प्रतिशतमा विद्युत् पुगेको छ । विद्युत्का ग्राहक सामुदायिकसहित ५९ लाख ३५ हजार पुगेको छ ।

७५३ स्थानीय तहमध्ये ५९० स्थानीय तहमा ९५ देखि शतप्रतिशतसम्म विद्युतीकरण भएको छ । ७२ स्थानीय तहमा ७५–९५ प्रतिशतसम्म र ३३ स्थानीय तहमा ५०–७५ प्रतिशतसम्म, २६ स्थानीय तहमा २५–५० प्रतिशतसम्म र ३२ स्थानीय तहमा ०–२५ प्रतिशतसम्म विद्युतीकरण भएको देखिएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चालु आर्थिक वर्षभित्रमा सबै नेपालीको घरमा भरपर्दो र गुणस्तरीय विद्युत् सेवा पु¥याउने नेपाल सरकारको घोषणालाई कार्यान्वयन गर्न सम्पूर्ण तयारी पूरा भई काम भइरहेको बताउनुभयो । “आव २०७२/७३ मा विद्युतीकरणको अवस्था ५८ प्रतिशत मात्र थियो, अहिले ९९ प्रतिशत पुग्नु ऐतिहासिक उपलब्धि हो,” उहाँले भन्नुभयो, प्राधिकरण आफैँ विद्युत् नपुगेका घर खोज्दै विकट बस्ती बस्ती पुगिरहेको छ ।”