जनताका मुद्दा खोसिने हुन् कि भन्ने आशङ्का जन्मिएको छ : प्रचण्ड

मूलखबर संवाददाता
काठमाडौं, २ भदौ ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले जनताका मुद्दा खोसिने हुन् कि भन्ने आशङ्का जन्मिएको बताउनुभएको छ । उहाँले पार्टीलाई सुदृढ र एकताबद्ध गर्दै जनतामा जाने अभियानको गृहकार्य गरिएको पनि बताउनुभएको छ।

वि.सं. २०५१ सालमा सहिद हुनुभएका तत्कालीन एकता ९केन्द्रका केन्द्रीय सदस्य रामवृक्ष यादवको स्मृतिमा पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा अध्यक्ष प्रचण्डले उक्त कुरा बताउनुभएको हो।

अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘जनताका मुद्दा खोसिने हुन् कि भन्ने आशङ्का जन्मिएको छ, प्रश्नहरू जन्मिएका छन् । जनताका मुद्दा रक्षा गर्न जनतामा जानुको विकल्प छैन। मैले सदन र सडकबाट सङ्घर्षको विकल्प देखेको छैन। हामीले राम्रो काम गरेका कारण विरोधीहरू आत्तिएर नयाँ गठबन्धन गरिएको छ। यो अपवित्र छ, यसको उद्देश्य गलत छ। पार्टीलाई सुदृढ गर्ने, अझ बलियो बनाउनेतिर हामी अगाडि बढेका छौँ ।’

कार्यक्रममा अध्यक्ष प्रचण्डले जनयुद्धको आधार तयार पार्न मधेशमा रामवृक्ष यादवको गुणात्मक योगदान रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ूरामवृक्ष यादव मधेशी जनताको आन्दोलनको बिचबाट जन्मिएको एक जना लोकप्रिय नेता हुनुहुन्थ्यो। उहाँ पार्टीभित्र मात्र नभएर बाहिर पनि अति लोकप्रिय हुनुहुन्थ्यो । रामवृक्ष मृदुभाषी, बहुआयमिक प्रतिभाका धनी हुनुहुन्थ्यो। मधेशमा जनयुद्धको आधार तयार पार्न उहाँले असाध्यै महत्त्वपूर्ण भूमिका खेल्नुभयो।ू अध्यक्ष प्रचण्डले जनताका मुद्दाका रक्षाका निम्ति माओवादी केन्द्रले सङ्घर्षको मोर्चालाई सुदृढ गर्ने समेत बताउनुभयो ।

उहाँले थप्नुभयो, ‘स्थायी समिति बैठकमा खुला र गम्भीर छलफल गरिरहेका छौँ। पार्टी थप सुदृढ गर्ने प्रक्रिया अगाडि बढेको छ। केन्द्रीय समितिको बैठकबाट व्यवस्थित कार्यक्रम र कार्ययोजना बनाएर अगाडि बढ्छौँ ।’

कार्यक्रममा पार्टी उपाध्यक्ष अग्निप्रसाद सापकोटा, महासचिव देवप्रसाद गुरुङ, उपमहासचिव गिरिराजमणि पोखरेल लगायतका नेताहरू हुनुहुन्थ्यो।