सोलुको थामेमा अचानक बाढी : एक जना वेपत्ता, ११ घर र स्कुल बगायो, हिमताल फुटेको आशंका

मूलखबर संवाददाता
काठमाडौं, ३२ साउन ।

साउन महिनाको अन्तिम दिनमा सोलुखुम्बु जिल्लाको थामे खोलामा आएको अप्रत्याशीत बाढीका कारण खुम्बु पासाङल्हामु गाउँपालिका– ५ थामेमा एक जना वेपत्ता भएका छन् भने भौतिक संरचनामा ठूलो क्षती भएको छ । बाढीबाट २० घर, थामे आधारभूत विद्यालय र एउटा क्लिनिकको भवन बगाएको छ । थामे खोलाको बाढीमा परी ५५ वर्षीय निमा नुरु टुडु शेर्पा बेपत्ता भएका छन् ।

अन्य सात घर जोखिममा रहेका छन्। एक्कासि बाढी बस्तीमा पनि उज्यालो समयमा भएकोले गर्दा मानविय क्षेती भने कम भएको प्रहरीले जनाएको छ ।
पर्यटकीय गाउँ थामेमा दिउँसो करिब १ः३० बजे अचानक बाढी आएको थियो । दोलखा र सोलुखुम्बुको सिमाना भई बग्ने थामे खोलामा एक्कासि आएको बाढीले स्थानीयलाई अत्याएको थियो । बाढी आउँदा विद्यालय छुट्टी भइसकेको थियो । कतिपय स्थानीय शुक्रबारे हटिया भर्न पाँच घण्टा पैदल दूरीमा रहेको नाम्चे गएका थिए ।

प्रहरीले थामे खोलामा पानीको बहाव एक्कासि बढेर क्षति पुगेको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय थाम्बुचे, नाम्चेबाट प्रहरी र नेपाली सेनाको टोली परिचालित भएको जनाएको छ। थामे खोलामा एक्कासि पानीको बहाव किन बढ्यो भन्ने खुलेको छैन।

प्रहरीले पानीको बहाव घट्दै गए पनि कटानको कारण माथिल्लो तटीय क्षेत्रमा जोखिम रहेको र तल्लो तटीय क्षेत्रमा कटानको कारण सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका– ६ बोदेबहर बलेखास्थित पाँच घरका मानिसलाई सुरक्षित स्थानतर्फ सारिएको थियो। यद्यपि, दुधकोशी नदीको तल्लो तटीय क्षेत्र भने खतरामुक्त रहेको स्थानीय प्रशासनले जनाएको छ।
प्रहरीका अनुसार बाढीपछि थामेका ९३ जना, स्थानीय विद्यालयको छात्रावासमा रहेका आठ शिक्षक, दुई कर्मचार र ३२ विद्यार्थीसहित १ सय ३५ जनालाई सुरक्षित ठाउँमा सारिएको छ । पीडितका लागि स्थानीय सरकारले राहतको योजना बनाउन थालेको छ  ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले मौसमले साथ दिए शनिबार काठमाडौंबाट एउटा टोली हेलिकोप्टरमा जोखिमयुक्त स्थानमा पठाइने बताए । उनका अनुसार राहत सामग्री लिएर जाने उक्त टोलीले प्रभावित क्षेत्रको प्रारम्भिक अध्ययन गर्नेछ । ‘पहिलो काम राहत लिएर जाने हो । त्यसपछि टोलीले प्रारम्भिक अध्ययन गरेर त्यहाँ थप जोखिम छ कि छैन भन्ने हेर्छ,’ उनले भने । स्थानीय प्रशासनका साथै प्रहरीले थामेमा जोखिमको अवस्था कायमै रहेकाले तल्लो तटीय क्षेत्रमा पनि सतर्कता अपनाउन सूचना जारी गरेको छ ।

प्रहरीका अनुसार बाढीको सतह साँझ केही घटेको छ । थामेबाट करिब ८२ किलोमिटर तल रहेको जल तथा मौसम विज्ञान विभागको बाढी मापन केन्द्रमा जलसतह साँझ ५स्१० बजे एक्कासि १।२० मिटर बढेको थियो तर आधा घण्टामै जलसतह घट्न थालेको थियो । ‘रबुवाबजारभन्दा तल्लो तटीय क्षेत्रमा तत्काल ठूलो जोखिम हुने नदेखिए पनि दूधकोशीको नदीतटीय क्षेत्रमा भोलि ९शनिबार० बिहानसम्म सतर्कता अपनाइराख्न उपयुक्त हुने देखिन्छ,’ मौसम पूर्वानुमान महाशाखाले भनेको छ ।

सुमद्र सतहबाट ३ हजार ८ सय मिटरमा रहेको थामेमा कसरी अचानक बाढी आयो भन्नेबारे केही खुलेको छैन । थामे खोलाको शिरमा रहेका ससाना हिमताल फुटेर या कुनै पहाड खसेर बाढी आएको खुम्बु पासाङल्हामु गाउँपालिकाका प्रवक्ता शेर्पाको आकलन छ । ‘थामे खोलाको शिरतिर ससाना ताल छन्, ती फुटे कि कुनै पहाड झरेर खोला थुनिएपछि बाढी आयो भन्ने यकिन भएको छैन,’ उनले भने ।