अहिले नेतृत्व परिवर्तन गर्ने बेला होइन : महासचिव गुरुङ

मूलखबर संवाददाता
काठमाडौं, ३० साउन ।

नेकपा माओवादी केन्द्रका महासचिव दुव गुरुङले अहिले नेतृत्व परिवर्तन गर्ने बेला नभएको बताएका छन् । माओवादी केन्द्रले सरकारबाट बाहिरिएपछि चलिरहेको पार्टीको स्थायी समिति बैठकमा नेतृत्व परिवर्तनबारे भएको बहसमा महासचिव गुरुङले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्व नै सही र क्रियाशील रहेकोले गर्दा अहिले प्रचण्डको नेतृत्व परिवर्तन गर्ने बेला नभएको विचार राखेका हुन् ।

पार्टी केन्द्रीय कार्यालयमा जारी स्थायी समिति बैठकमा मंगलबार गुरुङले कसैले चाहँदैमा अहिले नेतृत्व परिवर्तन सम्भव नहुने तर्क गरे । ‘यतिबेला विभिन्न शक्तिले पार्टीलाई घेराबन्दी गरिरहेका छन् । साम्राज्यवादी शक्तिहरू पार्टी फुटाउन लागेका छन्,’ गुरुङको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘नेतृत्वमाथि नियतवश प्रश्न उठाउँदैमा परिवर्तन हुँदैन । अहिले नेतृत्व परिवर्तन गर्ने बेला होइन ।’

गुरुङले अहिले मुख्य नेतृत्वमाथि प्रश्न उठाएर पार्टी कमजोर बनाउने खेलमा लाग्न नहुने बताएका हुन् । उनले माओवादी फुटाउन विभिन्न शक्ति लागेको दाबी पनि गरे । कांग्रेस र एमालेको गठबन्धन बनिसकेपछि नेतृत्वको विकल्प खोज्नुको नियत स्पष्ट नभएको गुरुङको भनाइ थियो । उनले आन्तरिक पार्टी एकता गर्नुपर्ने बेला अन्तरसंघर्ष चर्काउनु गलत हुने उल्लेख गरे ।