माओवादी केन्द्रकाे स्थायी समिति बैठक शुरू

मूलखबर संवाददाता
काठमाडौं

नेकपा माओवादी केन्द्रकाे स्थायी समिति बैठक शुरू भएको छ । पार्टीको केन्द्रीय कार्यलय पेरिसडाँडामा शुक्रबारबाट बैठक शुरू भएको हाे । यश अघि केन्द्रीय पदाधिकारी बैठकले साउन २५ देखि स्थायी समिति बैठक गर्ने निर्णय गरेको थियाे ।

शुक्रबार सुरु भएको स्थायी समिति बैठकले पार्टीले चलाउने देशव्यापी अभियानको प्रस्ताव तयार गर्नेछ । प्रवक्ता अग्नि सापकोटाका अनुसार उक्त प्रस्तावलाई केन्द्रीय समितिले पारित गरेपछि देशव्यापी रूपमा पार्टी संगठन सक्रिय हुनेछ । स्थायी समिति बैठकको पहिलो दिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी निर्माणका लागि जनतामा जाने अभियान चलाउनुपर्ने प्रस्ताव राखेका थिए । आफ्नो नेतृत्वको सरकारले सुरु गरेको सुशासन, सामाजिक न्यायका मुद्दा लिएर जनतासमक्ष जाने कार्यक्रम बनाइने उनले उल्लेख गरे । दुई मुख्य प्रतिस्पर्धी कांग्रेस र एमालेबीच सत्ता स्वार्थ मिलेका कारण आफ्नो सरकार ढलेको अध्यक्ष प्रचण्डको भनाइ थियो । ‘भ्रष्टाचारीलाई कारबाही गर्न खोज्दा माओवादी नेतृत्वको सरकार गयो,’ बैठकमा दाहालले भने, ‘अब हामी सुशासनको मुद्दा लिएर जनतासमक्ष जानुपर्छ र पार्टी निर्माणका लागि अभियान सुरु गर्नुपर्छ ।’ प्रचण्डले बैठककाे शुरूवातमा भनेका छन् ।

गत मंगलबार बसेको पदाधिकारी बैठकमा नेताहरूले सरकारले गरेका कामकाे समीक मो र नेताहरूमा देखिएकाे सत्तामाेहकाे विषयमा खुलेर कुरा राखेका थिए ।   त्यसपछि अध्यक्ष प्रचण्डले आफू सरकार बनाउने खेलमा नलाग्ने दाबी गर्दै अधिकांश समय जनतासमक्ष गएर बिताउने प्रतिबद्धता व्यक्त गरेका थिए। अब जनतामाझ गएर माओवादीले उठाउँदै आएका संघीयता, समानुपातिक र समावेशी नीतिको कार्यान्वयनमा जोड दिने अभिव्यक्ति प्रचण्डले शुक्रबार पनि व्यक्त गरेका छन् ।