बंगलादेश : विद्यार्थी नेताकाे दबाबपछि युनुसकाे नेतृत्वमा बन्ने भयाे अन्तरिम सरकार

मूलखबर संवाददाता
काठमाडौं, २३ साउन

बंगलादेशमा आन्दोलनकारी विद्यार्थी नेताहरूकाे दबाबपछि सेनाले नोबेल पुरस्कार विजेता तथा अर्थशास्त्री मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गर्न तयार भएको छ । अब युनुस अन्तरिम सरकारकाे प्रधानमन्त्री  हुने भएका छन् । रास्ट्रपति कार्यालय बंगभवनले मंगलबार राति प्रेस विज्ञप्ति जारी गर्दै युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन हुने जनाएको छ । युनुस अन्तरिम सरकारको प्रमुख सल्लाहकार हुनेछन् ।

आरक्षणविरोधी आन्दोलनका अगुवा विद्यार्थी नेताहरू र रास्ट्रपति मुहम्मद शहाबुद्दीनबीचको बैठकपछि उक्त निर्णय भएको हो । बैठकमा तीनवटै सशस्त्र सुरक्षा बलका प्रमुखहरूको समेत उपस्थिति थियो ।

बंगलादेशमा सेनाले सरकार गठन गरे विद्यार्थीले नमान्ने अडान लिएपछि नोबल पुरस्कार विजेता मुहम्मद युनुसलाई अन्तरिम सरकारको प्रमुख सल्लाहकार बनाउन सेना तयार भएको हाे ।

विद्यार्थी नेताहरूले संसद् भंग गर्न राष्ट्रपतिलाई मंगलबार दिउँसो ३ बजेसम्मको समयसीमासमेत तोकिदिएका थिए । राष्ट्रपति शहाबुद्दीनले तीनै सुरक्षा निकाय प्रमुख, विभिन्न राजनीतिक दलका नेता, नागरिक समाजका प्रतिनिधि र आरक्षणविरोधी आन्दोलनका अगुवा विद्यार्थीसँग भएको बैठकको निर्णयका आधारमा राष्ट्रिय संसद् विघटन गरेका थिए ।

विद्यार्थीहरूले नोबल पुरस्कार विजेता मुहम्मद युनुसलाई अन्तरिम सरकारको प्रमुख सल्लाहकार नियुक्त गरिनुपर्ने माग पनि अघि सारेका थिए । अन्तरिम सरकार गठनका लागि राष्ट्रपति र आन्दोलनको अगुवाइ गरेका विद्यार्थी नेताहरूबीच मंगलबार साँझ वार्ता भएको थियो । उक्त वार्ताले युनुसको नेतृत्वमा सरकार बन्ने निश्चित गरेको हो । याे खबर कान्तिपुरबाट लिइएको हाे ।

https://mulkhabar.com/archives/140150