काभा वुमन्समा इरानलाई हराउँदै नेपाल फाइनलमा प्रवेश

मूलखबर संवाददाता
काठमाडौं, २२ साउन

नेपाली महिला भलिबल टिम काभा वुमन्स नेसन्स कपको सेमिफाइनलमा मंगलबार इरानलाई सोझो सेटमा हराउँदै फाइनल पुगेकाे छ ।

घरेलु मैदानमा उपाधि उचाल्ने लक्ष्य राखेको नेपालले जित्नैपर्ने खेलमा इरानलाई ३-० को सेटमा पाखा लगाएकाे हाे ।

यसअघि आइतबार इरानसँग ३-२ को सेटमा पराजित भएकाले पनि नेपाललाई मंगलबारको खेलमा दबाब थियो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा मङ्गलबार भएको खेलमा नेपालले इरानमाथि २५–२१, २८–२६, २५–२० को नतिजा निकालेको हो । नेपालले इरानविरुद्ध लिग चरणमा खेपेको हारको बदला समेत लिएको छ । लिग चरणमा नेपाल इरानसँग ३–२ को सेटमा पराजित भएको थियो ।

फाइनलमा नेपालले बलियो भारतसँग प्रतिस्पर्धा गर्नेछ । मङ्गलबार भएको खेलमा भारतले श्रीलङ्कालाई ३–० को सोझो सेटमा हराउँदै फाइनलमा स्थान बनाएको हो । भारतले २५–१५, २५–१६, २५–२३ को जित निकालेको थियो ।

लिग चरणमा नेपालले भारतलाई ३–२ को सेटमा हराएको थियो । महिला भलिबलमा नेपालले भारतलाई हराएको यो पहिलो पटक हो । फाइल खेल बुधबार हुनेछ ।