प्रेस काउन्सिलकाे वर्गीकरण नतिजा पुर्वाग्रही र तथ्यहिन देखियाे- प्रेस सेन्टर

मूलखबर संवाददाता
काठमाडौं, २१ साउन

प्रेस सेन्टर नेपालले हालै प्रेस काउन्सिलद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष २०७८/७९ काे पत्रपत्रिकाकाे वर्गीकरण नतिजाकाे विराेध गरेको छ ।

संगठनका तर्फबाट साेमबार प्रेस विज्ञप्ति जारी गर्दै काउन्सिलले सार्वजनिक गरेकाे नतिजा पुर्वाग्रही र तथ्यहिन रहेकाे जनाएको छ ।

संगठनका केन्द्रीय महासचिव सन्ताेष पाैडेलकाे हस्ताक्षर रहेकाे विज्ञप्तिमा पत्रपत्रिका वर्गिकरण/मूल्यांकनको प्रारम्भिक नतिजाप्रति प्रेस सेन्टर नेपालको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै यसले स्वतन्त्र र नियमनकारी निकाय प्रेस काउन्सिलको गरिमा र ओज घटाएको मात्रै छैन, यसप्रतिको विश्वसनियतामाथि गम्भीर प्रश्न उठेको छ  भनिएकाे छ ।

विज्ञप्तिमा विगतमा क र ख लगायत माथिल्ला वर्गमा परेका र निरन्तर सोही मापदण्ड अनुसार प्रकाशीत जनपक्षीय पत्रिकाहरुलाई छानी छानी तल्लो वर्गमा झार्ने काम भएको आराेप लगाउँदै त्यसका तथ्यहरु देशभरबाट आइरहेकाे बताइएको छ ।

काउन्सिलले साउन १८ गते वर्गीकरणकाे प्रारम्भिक नतिजा प्रकाशीत गरेकाे थियाे । प्रेस सेन्टरले वर्गिकरणको नतिजा पुनरावलोकन गर्न र न्यायोचित र तथ्यसंगत अन्तिम नतिजा प्रकाशन गर्न माग पनि गरेकाे छ । विगतमा पनि वर्गीकरण र पुरस्कार वितरणमा यस्तै हर्कत गरेकाे उल्लेख गर्दै तत्काल हर्कत नसच्चाएमा सेन्टर कडा आन्दोलनमा उत्रने चेतावनीसमेत दिइएको छ ।

हेर्नुहाेस् विज्ञप्तिकाे पुर्ण पाठ

प्रेस विज्ञप्ति-
प्रेस काउन्सिल नेपालले गरेको आर्थिक वर्ष २०७८÷७९ को पत्रपत्रिका वर्गिकरण÷मूल्यांकनको प्रारम्भिक नतिजाप्रति प्रेस सेन्टर नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।

नेपाल सरकारद्वारा गठित सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहत रहेको पत्रपत्रिकाको नियमनकारी एकमात्र निकाय प्रेस काउन्सिल नेपालले २०८१ साउन १८ गते सार्वजनीक गरेको वर्गिकरणको नतिजा अध्ययन गर्दा पुर्वाग्रही र तथ्यहिन देखिएको छ । विगतमा क र ख लगायत माथिल्ला वर्गमा परेका र निरन्तर सोही मापदण्ड अनुसार प्रकाशीत जनपक्षीय पत्रिकाहरुलाई छानी छानी तल्लो वर्गमा झार्ने काम भएको तथ्यहरु देशभरबाट आइरहेका छन् । त्यसैगरी उस्तै मापदण्ड भएका अन्य पत्रिकाहरुलाई माथिल्लो वर्गमा राखीएका प्रमाणहरु पनि आइरहेका छन् । त्यसैगरी मापदण्डमा आवश्यक कागजात र प्रमाणहरु पेश गर्दासमेत हराएको वा अनेक बहाना बनाएर वर्गिकरणमा नपारेको र अन्य केही मापदण्ड पुरा नगरेका तथा प्रकाशन नै नभएका पत्रिकाहरुलाई समेत माथिल्लो वर्गमा पारिएका प्रमाणहरु फेला परेका छन् ।

साना लगानीका मिडिया र स्वरोजगारमूलक मिडियाहरुलाई टिकाउन मुख्य आधार बनेको सरकारद्वारा प्रदान गरिने लोककल्याणकारी विज्ञापनको लागि बनाइएको मापदण्ड पुरा गरेका पत्रत्रिकाहरुमाथि गरिएको ब्यवहार राजनीतिक पुर्वाग्रहप्रेरित देखिएको ठहर प्रेस सेन्टर नेपालको छ । यसले स्वतन्त्र र नियमनकारी निकाय प्रेस काउन्सिलको गरिमा र ओज घटाएको मात्रै छैन, यसप्रतिको विश्वसनियतामाथि गम्भीर प्रश्न उठेको छ ।

प्रेस काउन्सिल नेपालले विगतका वर्षहरुमा पनि वर्गिकरण र पुरस्कार वितरणमा समेत कुनै अमुक पार्टीको भातृ संगठनको जस्तो गतिविधि गर्दै आएकोमा यस पटक पनि वर्गिकरणमा सोहि हर्कत दोहोराएकोले सो हर्कत सच्याएर वर्गिकरणको नतिजा पुनरावलोकन गर्न र न्यायोचित र तथ्यसंगत अन्तिम नतिजा प्रकाशन गर्न प्रेस सेन्टर नेपाल माग गर्दछ । अन्यथा पत्रकार र स्वरोजगारमुलक साना लगानीका पत्रपत्रिकाका पक्षमा कडा आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी पनि दिन चाहन्छ ।

२०८१ साउन २१

सन्तोष पौडेल
(महासचिव)