बंगलादेशकी प्रधानमन्त्रीद्वारा राजीनामा, भारत गएको आशंका

मूलखबर संवाददाता
काठमाडौं

बंगलादेशमा आन्दोलन सरकारविरोधी आन्दोलन चर्किंदै गएपछि प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी छिन् । सरकारविरोधी आन्दोलन उत्कर्षमा पुगेपछि प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर देश छाडेको दावी बीबीसी बाङ्ग्लाले गरेको छ।

आन्दोलनको उत्कर्षमा हजारौँ प्रदर्शनकारीहरू ढाकास्थित प्रधानमन्त्रीको सरकारी निवासमा प्रवेश गरेका छन्। उनीहरूले हसिनाको राजीनामा माग्दै आएका थिए।

सरकारविरोधी आन्दोलनका क्रममा आइतबार सबैभन्दा ठूलो हिंसा भड्कीउको थियो जहाँ कम्तीमा ९० जनाको मृत्यु भएको दावी गरिएको छ । प्रदर्शनकारीले हताहतीको संख्या अझ वढि भएको बताएका छन् । आइतबारको हिंसात्मक झडपको भोलिपल्ट सोमवार राजधानी ढाकाको उत्तरा नामक क्षेत्रबाट हजारौँ प्रदर्शनकारीहरूले जुलुस निकाल्न थालेपछि सेनाप्रमुखले राष्ट्रका नाममा सम्बोधन गर्ने सूचना सार्वजनिक भएको थियो। सेनाप्रमुखले विभिन्न नेताहरूसँग छलफल गरेका थिए।

बीबीसीका अनुसार प्रधानमन्त्री हसिनाले देशवासीका नाममा सम्बोधन गर्ने चाहना व्यक्त गरेको भए पनि त्यो सफल हुन नसकेको बुझिएको छ।
श्रोतका अनुसार ढाकाका केही स्थानमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच भिडन्त भएको थियो। बाङ्ग्लाभाषाको पत्रिका ‘प्रोथोम आलो’  अनलाइनको संस्करणका अनुसार प्रदर्शनकारीहरू मध्यढाकाको शाहबागतिर जान लाग्दा प्रहरीले ‘साउन्ड ग्रिनेड’ र अश्रुग्यास प्रहार गरेको थियो। ढाका ट्रिब्यून र प्रोथोम आलोका अनुसार जात्राबारीमा भएको भिडन्तमा आज पनि केही मानिसको मृत्यु पनि भएको छ।