क्यान्सर अनुसन्धान केन्द्र सञ्चालन हुदै

मूलखबर संवाददाता
काठमाडौं

काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेको काठमाडौँ विश्वविद्यालय (केयु) ले क्यान्सर रोगको समयमा नै पहिचानका लागि प्रयोगशाला तथा क्यान्सर रोगको अनुसन्धान सुरु गर्ने भएको छ । विश्वविद्यालय परिसरमा रहेको नेपाल टेक्नोलोजी इनोभेसन सेन्टर (एनटिआइसी) को भवनमा क्यान्सर रोगको समयमै पहिचान, उपचार तथा अनुसन्धान केन्द्र स्थापना गर्ने योजना अघि बढाएको हो ।

विश्वविद्यालयले कोरिया अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (कोइका) को सहयोगमा इनोभेसन सेन्टरमा स्वास्थ्य प्रयोगशाला निर्माण गरी नेपालकै क्यान्सर रोगको अनुसन्धान केन्द्र बनाउने लक्ष्य लिएको इनोभेसन सेन्टरका निमित्त निर्देशक प्राडा राजेन्द्र ज्ञवालीले जानकारी दिनुभयो । उहाँले कोइकाले विश्वविद्यालयका लागि उपलब्ध गराएका अधिकांश स्वास्थ्यसम्बन्धी उपकरण क्यान्सर रोगको पहिचानका लागि मिल्दोजुल्दो भएकाले आवश्यक पर्ने थप उपकरण तथा रसायनलगायतका सामग्री उपलब्ध गराई क्यान्सर रोग अनुसन्धान केन्द्र बनाउन लागेको बताउनुभयो ।

तीन महिनाभित्र केन्द्र सञ्चालन गर्ने लक्ष्यका साथ उपकरणको व्यवस्थापन, आवश्यक उपकरण खरिदलगायतका काम गर्दै आएको विश्वविद्यालयले केन्द्रका लागि तीन सातापहिले क्यान्सर रोग विशेषज्ञ डा. अजयकुमार झालाई केन्द्र प्रमुखमा नियुक्त गरेको छ । कोइकाको सहयोगमा विश्वविद्यालयमा स्थापना भएको स्वास्थ्य प्रयोगशालाबाट पहिलो चरणमा रक्त क्यान्सरको उपचारका लागि आवश्यक जनशक्ति, आधुनिक प्रविधि र सुविधा उपलब्ध गराइने भएको छ ।

कोइकाले करिब एक अर्ब नेपाली रुपियाँको लागतमा नेपाल टेक्नोलोजी इनोभेसन सेन्टर (एनटिआइसी) को भवनका साथै करिब २० करोड रुपियाँ बराबरको स्वास्थ्य प्रयोगशालाका लागि आवश्यक पर्ने उपकरण, फर्निचरलगायत उपलब्ध गराएको थियो ।