बेलायतमा १४ वर्षपछि सत्तामा लेबर पार्टी, कियर स्ट्यामर प्रधानमन्त्रीमा नियुक्त
बेलायतमा विपक्षी लेबर पार्टी १४ वर्षपछि सत्तामा फर्केको छ । लेबर पार्टीका नेता सर कियर स्ट्यामर संयुक्त अधिराज्य (बेलायत) को नयाँ प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ ।
बेलायतका राजा चाल्र्स तृतीयले उहाँलाई शुक्रबार प्रधानमन्त्रीमा नियुक्त गरेसँगै विपक्षी लेबर पार्टी १४ वर्षपछि सत्तामा फर्केको छ । त्यसअघि प्रधानमन्त्री ऋषि सुनकले शुक्रबार नै राजासमक्ष राजीनामा बुझाउनुभएको थियो ।
बेलायतमा बिहीबार सम्पन्न आमनिर्वाचनमा विपक्षी लेबर पार्टीले ऐतिहासिक सफलता हात पार्दै ४१२ स्थानमा जितेसँगै लेबरका लागि सत्ताको ढोका खुलेको हो । लेबरको जित अघिल्लो आमनिर्वाचनको तुलनमा २११ सिट बढी हो । ६५० सदस्य रहेको बेलायती संसद् हाउस अफ कमन्समा बहुमतका लागि ३२६ सिट आवश्यक पर्छ । लेबरले सन् १९९७ मा टोनी ब्लेयरको नेतृत्वमा ४१९ सिट ल्याएपछिको यो दोस्रो ठुलो सफलता हो । प्रधानमन्त्रीमा नियुक्त भएसँगै टेन डाउनिग स्ट्रिटबाट राष्ट्रका नाममा सम्बोधन गर्दै स्ट्यामरले देशलाई एकताबद्ध गरी अघि बढ्ने बताउनुभयो ।
विगत १४ वर्ष दुई महिना सत्तामा रहेको कन्जरभेटिभ पार्टीको भने इतिहासमै लज्जाजनक हार भएको छ । सो पार्टीले १२१ सिट जित्दा २५० सिट गुमाएको छ । यसका प्रभावशाली मन्त्री तथा पार्टी नेताहरू पराजित भएका छन् ।