प्रधानमन्त्रीकाे ब्रिफिङ : गठबन्धन कायम रहन्छ, सरकार अगाडि बढ्छ

मूलखबर संवाददाता
काठमाडौं, १७ असार

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले वर्तमान सत्ता गठबन्धनमा कुनै समस्या नरहेको बताएकी छन् ।

मन्त्रीपरिषद् बैठकपछि धारणा राख्दै मन्त्री शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाहिर आएका हल्लाहरू अफवाह भएको र गठबन्धन कायम रहने बताएको जानकारी दिइन् ।

उनले प्रधानमन्त्रीकाे भनाइ उदृत गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच सकारात्मक छलफल भएको बताउँदै वर्तमान गठबन्धन लामो समय चल्ने उल्लेख गरिन् ।

‘बाहिर असमझदारी भए, बढे भन्ने जुन खालका चर्चा छन्, ति सबै कुरा असत्य हुन् । त्यस्तो छैन । सकारात्मक छ छलफल । यो गठबन्धन लामै समय जाने भनेर प्रधानमन्त्रीज्युले भन्नुभएको छ । हामीलाई पनि त्यस्तो मिडियामा आएको स्थिति होइन भन्ने कुरा ब्रिफिङ गर्नुभयो । यो गठबन्धन र सरकार यसरी नजाओस् भन्नेकुरा पनि कसैले सोचेको होला । यसलाई मिडिया ट्रायलका रुपमा ल्याइएको हो’ उनले भनिन् ।