कृष्णभिरकाे नयाँ ट्रयाकमा आजदेखी यातायात सुचारू, १८ दिनपछि खुल्याे पृथ्वी राजमार्ग
गत भदौ १० गते आएको भाेटेकाेशी बाढी र १४ गते पुन आएकाे बाढीबाट ध्वस्त भएको पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा आज बिहीबारदेखि दुईतर्फी सवारीसाधन सञ्चालन हुने भएको छ ।
सवारी आवागमन अवरुद्ध हुने गरी पहिरो गएको ठाउँभन्दा केही माथि नयाँ सडक बनाएर यातायात सञ्चालन गर्न लागिएको हो । कृष्णभीरमा सवारी आवागमन खुले पनि बेनीघाटबाट त्रिशूलीपारि गोरखातर्फबाट फिस्लिङ जोड्ने वैकल्पिक सडक निर्माण जारी रहनेछ ।
१८ दिनअघि १४ भदौमा त्रिशूली नदीमा आएको बाढीका कारण भित्ता कटान हुँदा कृष्णभीरमा पहिरो गएको थियो । पहिरो गएकै स्थानमाथि २ सय ७० मिटर नयाँ ट्र्याक खोलेर ग्राभेल गरिएपछि सवारीसाधन दुईतर्फी चल्ने अवस्था बनेको सडक विभागले जनाएको छ ।
ग्राभेल सडकबाटै दुई सातासम्म सवारीसाधन गुडाएपछि अवस्था विश्लेषण गरेर कालोपत्र गरिने सडक विभागले जनाएको छ । तत्कालका लागि भने नयाँ सडकलाई अस्थायी समाधानका रूपमा हेरिएको छ । सडक विभागका अधिकारीहरूका अनुसार ग्राभेल सडकमा दुई साता सवारी चलाएपछि त्यसको भारवहन क्षमता, स्थायित्व केही हदसम्म परीक्षण हुनेछ ।



