राष्ट्रपति पाैडेललाई जर्मनीमा गार्ड अफ अनरकाे सम्मान

मूलखबर संवाददाता
काठमाडौं, ३ असार

राष्ट्रपति रामचन्द्र पाैडेललाई जर्मनीमा गार्ड अफ अनरद्वारा सम्मानित गरिएको छ ।

जर्मनीको औपचारिक भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेललाई सोमबार बर्लिनमा जर्मन सरकारले ‘गार्ड अफ अनर’ को सम्मान दिएको हाे।

राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति फ्रयांक वाल्टर स्टाइनमायरबीच द्विपक्षीय भेटवार्ता हुनुअघि सो सम्मान दिइएको हो।

राष्ट्रपति पौडेल र राष्ट्रपति स्टाइनमायरबीच जर्मनीको बर्लिनअवस्थित राष्ट्रपति भवनमा सोमबार भेटवार्ता भएको छ।

स्विट्जरल्यान्डको जेनेभामा भएको ११२ औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय कार्यक्रम तथा सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन सत्रमा सहभागी भएर राष्ट्रपति पौडेल जर्मनी गएका हुन्।

राष्ट्रपति पौडेल र राष्ट्रपति स्टाइनमायरबीचको भेटवार्ताका अवसरमा राष्ट्रपति पौडेलले नेपालले जर्मनीसँगको सम्बन्धलाई सदैव उच्च महत्व दिएको बताएका छन्। बदलिँदो विश्व परिवेशमा यो सम्बन्ध अझ घनिष्ठ हुने विश्वास पनि उनले व्यक्त गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले  जानकारी दिए।‍