टी २० विश्वकप क्रिकेट : १ रनले साउथ अफ्रिकासँग नेपाल पराजित

मूलखबर संवाददाता
काठमाडौं, १ असार

आइसिसि टी २० विश्वकपकाे क्रिकेट खेलमा नेपाल १ रनले दक्षिण अफ्रिकासँग पराजित हुन पुगेको छ ।

वेस्ट इन्डियामा सम्पन्न  आइसिसी टी-२० विश्वकपअन्तर्गत समूह चरणको तेसो खेलमा नेपाल टेस्ट टोली दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको हाे । यस हारसँगै समूह ‘डी’ मा रहेको नेपाल विश्वकपबाट बाहिरिएको छ ।

शनिबार बिहान भएको खेलमा नेपालले दक्षिण अफ्रिकालाई कडा चुनौती दिएको थियाे । तर अन्तिममा नेपाली ब्याट्सम्यानकाे कमजनेर प्रदर्शनले गर्दा जित निकाल्न कठिन भएको हाे । साेमपाल कामीले छक्का हानेर केही आशा जगाएकाे खेलमा गुल्सनकाे कमजोर प्रस्तुतिले निराशा थपेको हाे ।

सुपर आठमा पुग्न नेपाललाई दक्षिण अफ्रिका पन्छाउनु पर्ने बाध्यता थियो । नेपालले अब समूहको अन्तिम खेल सोमबार बङ्गलादेशसँग खेल्नेछ ।

जितका लागि एक सय १६ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय १४ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि ओपनर आशिफ शेखले सर्वाधिक ४२ रन बनाउनुभयो । उहाँले ४९ बलमा चार चौका र एक छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो ।

अनिल शाहले २७ रन बनाउनुभयो । उहाँले २४ बलमा तीन चौका र एक छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । ओपनर कुशल भुर्तेलले १३ रन जोड्नुभयो ।

यस्तै दीपेन्द्रसिंह ऐरीले ६ रनमा आउट हुनुभयो । कुशल मल्ल एक रन र कप्तान रोहित पौडेल शुन्य रनमा पेभेलियन फर्किनुभयो । सोमपाल कामीले अविजित आठ र गुलशन झाले ६ रन बनाउनुभयो ।

बलिङमा दक्षिण अफ्रिकाका तवरेज साम्सीले चार विकेट लिनुभयो । एनरिच नोट्जे र ऐरिन मार्करामले एक एक विकेट लिनुभयो । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय १५ रन बनाएको थियो ।

दक्षिण अफ्रिकाका लागि ओपनर रेजा हेन्ड्रिकले सर्वाधिक ४३ रन बनाउनुभयो । यस्तै त्रिस्टन स्टुबासले अविजित २७, कप्तान ऐडेन मार्करामले १५ र क्वीटन डि ककले १० रन बनाउनुभयो ।

बलिङमा नेपालका कुशल भुर्तेलले चार विकेट लिनुभयो । दीपेन्द सिंह ऐरीले तीन विकेट झार्नुभयो । यस नतिजासँगै समूह ‘डी’ मा दक्षिण अफिका अपराजित रह्यो ।

यसअघि नै सुपर आठमा पुगेको दक्षिण अफ्रिकाले चार खेलबाट आठ अङ्क बनाएको छ । दोस्रो स्थानमा रहेको बङ्गलादशेको तीन खेलबाट चार अङ्क छ । दुई अङ्क बनाएको नेदरल्यान्ड्स तस्रोे स्थानमा छ ।

नेपालको तीन खेलबाट एक अङ्क छ । एक अङ्क बनाएको श्रीलङ्का अन्तिममा छ । सन २०१४ को विजेता श्रीलङ्का पनि विश्वकपबाट बाहिरि सकेको छ ।