वीर अस्पतालमा शुरू भयाे ब्रेन ट्युमरकाे नि:शुल्क शल्यक्रिया

मूलखबर संवाददाता
काठमाडौं, २७ जेठ

नेपालकाे सबैभन्दा पुरानाे र पहिलो अस्पताल वीर अस्पतालले ब्रेन ट्युमरका बिरामीको निःशुल्क शल्यक्रिया सुरु गरेको छ। अन्तर्राष्ट्रिय ब्रेन ट्युमर दिवसका अवसर पारेर आइतबारदेखी ब्रेन ट्युमरको निःशुल्क शल्यक्रिया सुरु गरेको अस्पतालको राष्ट्रिय ब्रेन ट्युमर केन्द्रका अध्यक्ष प्राडा राजीव झाले जानकारी दिएका छन्।

उनका अनुसार जेठ २७ देखि असार १६ गतेसम्म अस्पतालमा आउने ब्रेन ट्युमरका बिरामीको निःशुल्क शल्यक्रिया गरिनेछ।  बाहिरी अस्पतालमा शल्यक्रिया गर्दा कम्तीमा रु. एकदेखि तीन लाखसम्म पर्छ। शरीरका कोषिकाहरू असामान्य ढंगबाट बढ्दै गएको अवस्थामा ब्रेन ट्युमरको समस्या हुने उनले जानकारी दिए।

‘मानिसको उमेर बढ्दै जाँदा शरीरका अंगहरू कमजोर हुने क्रमसँगै ब्रेन ट्युमरको सम्भावना बढ्दै जान्छ। हेपाटाइटिस, एड्सजस्ता रोग लागेर कमजोर भएका व्यक्तिको लिम्फोमा ट्युमर हुने उच्च सम्भावना रहन्छ,’ उनले भने।

ब्रेन ट्युमर हुनुको अर्को कारण खराब विकीरण पनि हो। एक्स-रे, सिटीस्क्यान गराउँदा निस्कने विकीरण हानिकारक मानिन्छ। ब्रेन ट्युमरको उपचारमा धेरै प्रयोग हुने प्रविधि भनेको ‘एसआरएस’ अर्थात् ट्याक्सी रेडियो सर्जरीलाई लिने गरिन्छ ।

ब्रेन ट्युमरसम्बन्धी लक्षण, यसको जोखिम समयमा पहिचान गर्ने र उपचार गर्ने हो भने यो रोगबाट पार्ने असर, ब्रेन ट्युमरबाट हुन जाने शारीरिक र मानसिक दुर्बलतालाई कम गर्न सकिने उनको भनाइ छ। नेपालमा सबैभन्दा पहिलो ब्रेन ट्युमरको शल्यक्रिया पनि वीर अस्पतालमा गरिएको थियो।-रासस