माधव नेपालकाे कमजोर रणनीति, फेरि बने असफल

मूलखबर संवाददाता
काठमाडौं

दुइपटक चुनाव हारेका एमाले नेता माधव नेपाललाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सांसद र प्रधानमन्त्री नै बनाइदिएपछि माओवादी वृत्तमा प्रचण्डको आलाेचना भएको थियाे तर प्रचण्डले माधव नेपाल नेपालकाे राजनीति र सत्तामा आवश्यक व्यक्ति भएको भन्दै बचाउ गरेका थिए । माधव नेपालकै व्यवस्थापन र उनैकाे पक्षमा लाग्दै गर्दा केपी ओलीसँग प्रचण्डको विवाद बढ्याे र अन्ततः नेकपा फुट्याे । एमालेमा पिडित र हेलित भएका माधव नेपाललाई नेकपा पछि विभाजन र निर्वाचनमा पुर्ण साथ दिएर प्रचण्डकै कारण १० सिटमा प्रत्यक्ष सांसद सहितकाे बलियाे पार्टी बन्याे ।

तर पछिल्लो समयमा कांग्रेससँगकाे समिकरण ब्रेकपछि माधव नेपालले लगातार प्रचण्डसँग निहुँ खाेजिरहे । कांग्रेस सभापति शेरबहादुर देउवा र जसपाका उपेन्द्र यादवसँगकाे हिमचिम बढाउने मात्रै हाेइन समिकरण वा गठबन्धन नै ढालेर प्रधानमन्त्री बन्ने रणनीति बनाउन लागिरहे । तर उनको त्याे रणनीति अब पुर्ण रूपमा असफल बनेकाे छ । जसपाका नेता अशाेक राईले सात सांसदसहित पार्टी फुटाइदिएपछि उनको त्याे रणनीति असफल बनेकाे हाे ।

तत्काल नयाँ समीकरणको सम्भावना जसपा फुटसँगै क्षीण भएपछि बदलिएको परिस्थितिमा राजनीतिक निर्णय लिन नेपालले सोमबार संसदीय दलको बैठक बोलाएका थिए । बैठकमा सबैजसो सांसदले दलको पछिल्लो रणनीतिले क्षति मात्र भएको भन्दै आलोचना गरेका थिए । बैठकमा सहभागी सांसद शेरबहादुर कुँवरले भने, ‘सांसदहरूले राजनीतिक घटनाक्रमको समीक्षा गर्दै आफ्ना मत राख्नुभयो, समग्रमा वर्तमान समीकरणलाई निरन्तरता दिनुपर्छ भन्ने एउटै धारणा आयो, खासमा सबै सदस्यले वर्तमान समीकरण नबदल्न अध्यक्षलाई सुझाव दिए ।’

जवाफमा नेपालले पनि गठबन्धनका कतिपय कामकारबाहीप्रति असन्तुष्टि भए पनि वैकल्पिक समीकरण बनाउने पक्षमा आफू पनि नरहेको प्रस्टीकरण दिए । ‘गठबन्धनका कतिपय विषयमा असन्तुष्टि छ, तर यही गठबन्धनलाई कायम राखेर अघि जाने हो,’ नेपालको भनाइ थियो । तर, तीन साताअघि गृहजिल्ला रौतहटको एक कार्यक्रममा नेपालले ‘आफ्नो पार्टीको भूमिकालाई कसैले अवमूल्यन वा बेवास्ता गर्‍यो भने उसले ठूलो मूल्य चुकाउनुपर्ने’ चेतावनी दिएका थिए । सत्ता गठबन्धन नै भत्कन सक्ने चेतावनीका साथ उनले भनेका थिए, ‘हाम्रो आफ्नै स्वाभिमान र महत्त्व छ, त्यसैले यो कुरा बुझ्यो भने ठीक छ । नत्र सबै उल्टिन्छ र देशमा अर्को उथलपुथल हुन्छ ।’