चितवनमा लागू ओैषध निस्तेज पार्न महाअभियान शुरू

मूलखबर संवाददाता
चितवन, १५ बैसाख

युवाहरूमा बढ्दै गएकाे गम्भीर समस्याको रूपमा रहेकाे लागू औषध निस्तेज गर्नका लागि चितवनमा महाअभियान सञ्चालन गर्न भएको छ ।

लागू ओैषधको ट्रान्जिट प्वाइन्टकाे रूपमा रहेको चितवनलाई निष्तेज पार्ने अभियान सुरु भएको हाे । जिल्लामा सबैभन्दा धेरै लागू औषधको प्रयोगकर्ताको रुपमा युवा समूहहरु समावेश भएको तथ्याङ्क वृद्धि भएसँगै चितवन प्रशासनको नेतृत्वमा ३ महिने महाअभियान सुरु भएको हो ।

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले ३ महिने महाअभियानको उद्घाटनसँगै कार्ययोजना पुस्तिका सार्वजनिक गर्नुभएको हो ।सो अवसरमा बोल्दै महानगर प्रमुख दाहालले सभ्य, सुन्दर सुसंस्कृत महानगर निर्माणमा विकास निर्माणसँगै लागू औषध नियन्त्रण गर्नु स्थानीय सरकारको दायित्व रहेको बताउनुभयो ।

उहाँले सडक मानवमुक्त पहिलो महानगर जस्तै लागू औषध नियन्त्रणमा पनि देशको उदाहरणीय काम गर्नुपर्नेमा जोड दिनुभयो ।अभियानमा महानगरपालिकाको तर्फबाट आवश्यक साथ सहयोग र सहकार्य हुने प्रमुख दाहालले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

विकृति विसंगति रहित समाजको निर्माण, युवा वर्गलाई लागुऔषधको दलदलबाट बाहिर ल्याई लागुऔषध मुक्त समाजको निर्माण गर्नका लागि अभियान प्रभावकारी हुने महानगरका उपप्रमुख चित्रसेन अधिकारीले बताउनुभयो ।

जिल्लाका ७ वटै स्थानीय सरकारले ३ महिने अभियानका लागि सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसालको संयोजकत्वमा समिति गठन गरिएको छ । पछिल्ला वर्षहरुमा लागू औषध ओसार-पसार, कारोबार एवम् सेवनका घटना बढ्दै गएपछि जिल्लामा नै पहिलो पटक ७ वटै पालिकालाई लक्षीत गरी लागू औषध विरुद्धको महाअभियान सुरु गरेको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जानकारी दिनुभयो ।