गर्भवती महिलाकाे हेलिकप्टरबाट उद्वार, अहिलेसम्म २ दर्जनकाे गरियाे उद्वार

मूलखबर संवाददाता
काभ्रे, २३ चैत

काभ्रे जिल्लाकाे महाभारत गाउँपालिका वडा नं १ कि गर्भवति महिलालाई गाउँपालिकाकाे सहयाेगमा हेलिकप्टरबाट उद्वार गरि काठमाडौं लगिएको छ ।

सरकारले दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलालाई निःशुल्क हवाई उद्धार गरी तोकिएका अस्पतालमा पुर्याउने व्यवस्था मिलाउने गरेको छ।

काभ्रेको डाँडापारी महाभारत गाउँपालिका–१ साहनकी गर्भवती २१ वर्षीया कान्छीमाया वाइबा (मोक्तान)को नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो।

महाभारत–१ साहनकी गर्भवती वाइबा शनिबार दिउँसो गोकुले स्वास्थ्य चौकी भर्ना भएकी थिइन्।

स्वास्थ्य चौकी भर्ना हुदा एक्कासि प्रेसर हाइ(बढी) भएपछि गर्भवती वाइबालाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले उद्धार गरेको महाभारत गाउँपालिका प्रवत्ता तथा वडा नं. १ का वडा अध्यक्ष कान्छामान जिम्बा (रोहित) ले जानकारी दिए।

गोकुले स्वास्थ्य चौकी भर्ना भएकी वाईबालाई एक्कासि प्रेसर हाइ(बढी) भएकोले थप उपचारका लागि साझँ ५ बजे काठमाडौँ लगिएको वडा अध्यक्ष जिम्बाले बताए।

स्वास्थ्य चौकीमा उपचार हुन सक्ने अवस्था नभएपछि थप उपचारका लागि काडमाडौँको थापाथलीस्थित प्रसूतिगृहमा लगिएको हो।

भौगोलिक विकटताका कारण नजिकमा वर्थिङ सेन्टर र स्वास्थ्य चौकीहरुमा शल्यक्रियासहितको प्रसूति सेवा पर्याप्त मात्रामा छैन।

गाउँपालिकामा यो कार्यक्रम सुचारु भएयता झण्डै २ दर्जन सुत्केरी तथा गर्भवतीको उद्धार गरिसकेको छ।